प्राय: अभिभावकहरुलाई आफ्नो बच्चा मोटो र हृष्टपुष्ट भएको हेर्न मन लाग्छ। बच्चा अत्याधिक मोटो हुनु स्वास्थ्यका दृष्टिकोणले भने त्यति राम्रो मानिन्न । केही हदसम्म मोटोपन राम्रो हो तर बढी मोटो हुनु हानिकारक पनि हुनसक्ने विशेषज्ञहरु बताउँछन् ।
यता आमाबाले बच्चा कमजोर होलान् भनेर धेरैभन्दा धेरै खानेकुरा खुवाउने गरेको पनि देखिन्छ। बच्चाहरुलाई बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म पटक पटक खुवाइन्छ। अझ आजकाल त घरका खानाबाहेक चाउचाउ, चाउमिन, चिजबल, चकलेट, मम, पिज्जाजस्ता जंकफुड खुवाउने प्रचलन पनि व्यापक छ।
खानाअनुसार बच्चाहरुले शारीरिक परिश्रम गर्न पर्दैन। धेरै समय स्कुलमा बिताउँछन्। घर फर्केपछि होमवर्क। त्यसपछि कम्प्युटर, मोबाइल र टेलिभिजन।बाहिरी खेलहरू खेल्दैनन्। एकोहोरो खाना र शारीरिक गतिविधि कम भएकाले उनीहरू मोटाउँदै गएका देखिन्छन्।
कतिपय आमाबाबु बच्चा मोटोघाटा छन् र निरोगी छन् भनेर खुशी हुन्छन्। तर त्यसो होइन। मोटोपन आफैमा रोग हो । शरीरमा जम्ने अतिरिक्त बोसोले मोटोपन ल्याउँछ । मोटोपनले शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुर्याउँछ ।
मोटोपनको कारण अहिले बच्चाहरुमा मधुमेहको समस्या ल्याउँछ। उनीहरु जति जति ठूलो हुँदै जान्छन्, उत्तिनै रोगले समात्ने सम्भावना रहन्छ । डिप्रेसन, हृदयरोग र मृगौलाको समस्या हुने खतरा रहन्छ ।
बच्चाको उमेर, उचाइ अनुसार तौल निर्धारण हुन्छ। यदि यसको सन्तुलन नमिलेमा वा उचाई र उमेर अनुसार आवश्यकभन्दा बढी तौल भएमा मोटोपन भएको भनेर बुझ्नुपर्छ।
अहिलेका बच्चाहरू मोटाउने प्रमुख कारण शारीरिक निष्क्रियता र भनेको जंकफुड हो। आमाबुवाले बच्चाको खानपानमा ध्यान दिनुपर्छ। घरबाहिरको खानामा नियन्त्रण गर्नुपर्छ। चाउचाउ, चिजबल, बर्गर, पिज्जा, मम, चाउमिन जस्ता बजारका खानेकुरा दिनुहुँदैन। सम्भव भएसम्म घरमै बनाएर खाजा दिनुपर्छ।
बच्चालाई तालिका मिलाएर खानेकुरा दिनुपर्छ। खानपान व्यवस्थित भएमा पचाउन पनि सहज हुन्छ। सही समयमा सही किसिमको खानपानले मोटो हुन दिँदैन।
टिभी वा माेबाइलमा कार्टुन हेर्दै स्न्याक्स खाने बानी हटाउनुपर्छ। बच्चालाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ। एकै स्थानमा बसिरहने, पढिरहने र टिभी–माेबाइल हेरिरहने बानी हटाउनुपर्छ। बच्चाहरूलाई सकेसम्म घरबाहिरका गतिविधिमा लगाउनुपर्छ। व्यायाम, बाहिरी खेलकुद, भान्सा र बगैँचाका काममा आफूसँग सक्रिय राख्नुपर्छ।
बच्चाहरुलाई घुमाउनको लागि फनपार्क र फिल्म हलभन्दा प्राकृतिक ठाउँ जस्तै पहाड, जंगल आदिमा लगेर स्वच्छ हावा खाने अवसर दिनुपर्छ । पहाडमा हिंड्दा बच्चाहरुको हड्डी र मांशपेशी मजबुत हुन्छन् । उनीहरु जति प्रकृतिसँग नजिक हुन्छन् त्यति नै स्वस्थ र बलशाली हुन्छन् । त्यसकारण, बच्चाहरुलाई ब्रोइलरजस्तो मोटाउन हाल्नुभन्दा कालिजजस्तो चुस्त र फुर्तिलो बनाउँदा सबैको भलो हुन्छ ।