हाल बन्द रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन् । यो उद्योग करिब चार दशकअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा सञ्चालनमा आई १० वर्ष सञ्चालन भएर बन्द रहेको छ ।

८० वर्षे आयोजना भनिएको यो उद्योग सञ्चालनमा सरकारको स्पष्ट र स्थिर नीति नभएको भन्दै स्थानीयवासीले पुनः सञ्चालनमा ल्याउन आवाज उठाएका हुन् ।

नेपाली काँग्रेस, दोलखा जिल्ला पार्टी सभापति बर्मा लामाले भने, “सरकारले यो उद्योग चलाउन नसक्दा यो परिस्थिति आएको हो । सरकारले निजी क्षेत्रलाई दिएर सञ्चालनमा ल्याउनुपर्छ ।”

नेपाल कम्युनिस्ट पार्टी एमाले, जिल्ला सङ्गठन समिति दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले सरकारकै कमजोरीले यो कम्पनी सञ्चालनमा आउन नसकेको बताए । उनले रोजगारीसमेत सिर्जना हुने भएकाले छिट्टै उद्योग सञ्चालन गर्नुपर्ने माग गरे।

स्थानीयवासीले रोजगारी पाउने, राज्य तथा जिल्लालाई नै प्रत्यक्ष फाइदा हुने भएकाले तत्काल सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक कुलबहादुर बुढाथोकीले बताए।

उत्पादनले बजार नपाएको तथा लगानीकर्ताबीच विवाद भएकाले १० वर्ष पनि नचल्दै यो उद्योग बन्द भएको थियो । तीन अर्ब ५९ करोड रुपियाँको लगानीमा २०३६ सालदेखि सञ्चालनमा आएको उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्ट्रिज लिमिटेडको साढे १२ प्रतिशत र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको साढे १२ प्रतिशत लगानी रहेको थियो । भारतीय लगानीकर्ताले आफ्नो सेयर तीन करोड ७५ लाख रुपियाँ फिर्ता लगिसकेका छन् ।

म्याग्नेसाइट तथा खरी प्रशोधनका लागि सिन्धुपाल्चोकको लामोसाँघुसम्म पु-याउन २०४० सालतिर १६ करोड रुपियाँमा रोपवे निर्माण भएको थियो । अहिले उद्योगको करोडौँका सामान खिया लागेर बिग्रिएको अवस्थामा छन् । खानी परिसरमा चारवटा डोजर, १२ वटा टिप्पर र होल खोप्ने तीनवटा मेसिन अलपत्र अवस्थामा देखिन्छन् ।

उद्योगका भौैतिक संरचनामध्ये एक नम्बर कोलोनीमा रहेका भवन भग्नावशेष बनेका छन् । मुख्य साइट कार्यालय परिसरमा थोत्रा गाडी राखिएका छन् ।

उद्योग सञ्चालनमा रहँदा पाँच सय कर्मचारी तथा दुई हजार मजदुर रहेका थिए । अहिले पनि खरीढुङगा, तौथली, टेकनपुर, लामोसाँघु र काठमाडौँमा गरी चौकीदारसहित १८ जना कर्मचारी अझै छन् । द्वन्द्वका समयमा उद्योगका सवारीसाधन र केही भवनमा आगजनी भएको थियो ।

कम्पनीका अनुसार प्वाल बनाउने तीनवटा मेसिन जलाइएकाले काममा समस्या परेको छ । अहिले खरी निकाल्ने काम पनि बन्द गरिएको छ ।

स्थानीयका अनुसार २०५८ सालसम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो । साथै म्याग्नेसाइट र खरी उत्खनन गरी नमुना परीक्षणकै नाममा विदेश निर्यात गरिएको थियो । कर्मचारीलाई तलब खुवाउन भन्दै धेरै वर्षसम्म खरी निकालेर लैजाने गरिएको थियो । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धानले देखाएको छ । ४० वर्ष बितिसक्दा पनि व्यवस्थित रूपमा खानी सञ्चालन गर्न खासै चासो देखाइएको छैन ।

तत्कालीन लाँकुरीडाँडा गाविस र त्यस आसपासमा करिब ४७ वर्षअघि खानी पत्ता लागेपछि २०३६ सालमा उद्योग स्थापना गरिएको थियो । उद्योगले स्थानीयवासीलाई छ सय रोपनी जग्गाको मुआब्जा तिरेको छ ।

म्याग्नेसाइट उद्योगबाट तत्कालीन लाँकुरीडाँडा–७, बोच–१, मागापौवा–४, भीमेश्वर नगरपालिका–५ र सिन्धुपाल्चोकको जेठाल गाविसका जनता प्रभावित भएका छन् ।

Share.

Leave A Reply