कुनै एक शहरमा एक जना मूर्तिकार बस्थे । उनी निकै राम्रो मूर्ति बनाउँथे । उनले मूर्ति बेचेर राम्रो आम्दानी गर्थे । उनलाई चाँडै नै एक पुत्र प्राप्ति भयो । उनले सानैदेखि छोरालाई पनि मूर्ति बनाउन सिकाए । छोराले पनि मेहनत गरेर काम सिक्न थाल्यो ।

उनीहरुको आम्दानी दोब्बर भयो । दुवैजना निकै खुसी थिए । तर, प्रत्येक चोटी छोराले बनाएको मूर्तिमा बाबुले केही न केही खोट निकाल्थे । छोराले त्यसलाई सहजरुपमा लिँदै अझै राम्रो कला सिर्जना गर्थ्यो । यसरी, दिनहरु बित्दै गए । छोरा अब जवान भईसकेको थियो । उसले बाबुले भन्दा पनि राम्रो मूर्ति बनाउन थाल्यो । उसको मूर्ति बाबुको भन्दा बढीमा बिक्न थाल्यो । त्यैपनि, बाबुले प्रत्येक पटक उसले बनाएको मूर्तिमा खोट निकाल्न छोडेनन् । यो देखेर छोरालाई दिक्क लाग्न थाल्यो । बाबु हुन् भनेर उसले चुपचाप सहेर अझै मेहनत गर्न थाल्यो र ऊ त्यस शहरको सर्वश्रेष्ठ मूर्तिकार बन्यो ।

यति हुँदा हुँदै पनि बाबुले उसको मूर्तिमा कमजोरी देखाईदिन्थे । यो सुनेर छोराको धैर्यको बाँध टुट्यो । उसले बाबुलाई जवाफ फर्कायो, “बुबा! हजुरलाई त्यति धेरै आउँछ भने आफ्नो मूर्तिलाई अझ राम्रो बनाउनुहोस् न ! मलाई सुझाव दिन छोड्नुहोस् । मैले बनाउने मूर्ति उत्तम छ ।”

त्यस दिनदेखि बाबुले छोरालाई सुझाव दिन छाडे । केही महिना छोराले आनन्दले दिन बितायो । केही समयपछि उसको मूर्तिहरु कम बिक्न थाले । मानिसहरुलाई उसको मूर्तिमा रुचि हराउन थाल्यो। उसलाई अचम्भ लाग्यो । उसले सोँच्यो, ” आखिर यो के भई रहेको छ !”

केही सीप नलागेपछि ऊ आफ्नो बाबुलाई भेट्न गयो । उसको हालत देखेर बाबु मुस्कुराए । छोराले सोध्यो, ” के तपाईंलाई पहिल्यै थाहा थियो मेरो यस्तो हालत हुन्छ भनेर?” बाबुले हो भन्दै टाउको हल्लाए । उनले भने, ” हो छोरा ! मलाई थाहा थियो किनभने आज भन्दा २० वर्ष अगाडी मेरो हालत तिम्रो जस्तै भएको थियो। तिम्रो हजुरबुवा र मेरो यस्तै मनमुटाव भएको थियो ।”

छोराले आँसु झार्दै भन्यो, ” थाहा थियो भने मलाई किन सम्झाउनु भएन?”

बाबुले भने, ” यसका दुई कारण छन् । पहिलो कारण त्यो बेलामा तिमी यति अहंकारी भएका थियौ कि तिमीले मेरो कुरा बुझ्ने थिएनौ । अर्को कारण, तिमीले जीवनमा असफलता भोगेकै थिएनौ । सफल व्यक्तिहरुको लागि सफलता भन्दा असफलताको अनुभव निकै महत्त्वपूर्ण हुन्छ ।”

बाबुले भन्दै गए, ” मलाई थाहा छ मैले तिमीले जस्तो राम्रो मूर्ति बनाउन सक्दिन । अनि मैले दिएको सुझाव सबै राम्रा नहुन पनि सक्छन् । तर, मैले तिम्रो मूर्तिमा कमजोरी देखाउँदा तिमीले त्यसलाई अझै उत्कृष्ट बनाउँछु भनेर लागिपर्थ्यौ । तिमीलाई लाग्थ्यो अझै उत्कृष्ट बनाउन सकिन्छ भनेर ! त्यो कुराले नै तिमीमा निखार ल्याईरहेको थियो र त्यही नै तिम्रो सफलताको कुञ्जि थियो ।”

बाबुछोराले एकअर्कालाई अङ्कमाल गर्दै हर्षका आँशु खासाले । छोराले फेरि मेहनत दोब्बर गर्दै उत्कृष्ट मूर्ति बनाउन थाल्यो ।

नैतिक पाठ: जब हामी सोँच्छौँ अब केही सिक्नु छैन, त्यहाँबाट हाम्रो दुर्गति सुरु हुन्छ ।

Share.

Comments are closed.