अहिलेको समयमा बीमा कम्पनीहरु चुक्ता पुँजी वृद्धि गर्नेतर्फ लागि परेका छन् । बीमा समितिको हालै बसेको बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ ।
समितिको निर्देशनसँगै बीमा कम्पनीलाई पूँजीवृद्धिका लागि थप तनाव हुने देखिएको छ ।

समितिले आगामी एक महिनाको समय दिएर बीमा कम्पनीहरूलाई पूँजी वृद्धिको योजना सहिनको विवरण बोर्डबाट निर्णय गराई समितिमा पेस गर्न निर्देशन दिएको छ । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न पनि समितिले भनेको छ ।

यता बीमा कम्पनीहरूले भने तोकिएको समयमा पुँजी पुर्याउनका लागि हकप्रद र बोनस सेयरको बाटो रोज्न थालेका छन् । एकैपटक धेरै पुँजी वृद्धि गर्नुपर्ने र समय छोटो भएका कारण कम्पनीहरूले हकप्रद र बोनसबाटै पुँजी वृद्धि गर्ने भएका हुन् ।

एक वर्षभित्रै समितिले तोकेअनुसार साढे दुई गुणाले पुँजी वृद्धि सहज नभएको बीमकहरू बताउँछन् । बजारमा तरलता अभाव र समय पनि छोटो भएकाले तोकिएको पुँजी कायम गर्न नसकिने कम्पनीहरु बताउँछन् । समितिले तोकिदिएको समयमा पुँजी वृद्धि गर्नका लागि बोनस सेयर र हकप्रद बाहेकको अन्य विकल्प नभएको कम्पनीहरूले प्रतिक्रिया दिएका छन् ।

समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । तर, यो बीमा कम्पनीबाहेक अन्य कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ ।

कम्पनीले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ ।

Share.

Comments are closed.