एउटा शहरमा एक जना परिश्रमी तर गरिब केटो एक्लै बस्थ्यो । ऊ आफ्नो हातमुख जोड्नको लागि दिनभर मेहनत गर्थ्यो । साँझ घर आएर खाना खान्थ्यो र त्यही खानाबाट भोली बिहानको लागि साँचेर राख्थ्यो । अनि ऊ सुत्न जान्थ्यो । हरेक दिन जसो एउटा मुसा आएर उसले साँचेको खाना खाईदिन्थ्यो । यसरी, ऊ सधैँजसो बिहान भोकै काममा जान्थ्यो ।

एकदिन दिक्क मानेर उसले मुसालाई समात्ने निर्णय गर्यो । राती मुसा आएर खाना चोर्न लाग्दा उसले मुसालाई पासोमा पार्यो । त्यसपछि, मुसालाई उसले सोध्यो, “ए मुसा ! तिमी सधैँ मेरो खाना मात्र चोर्न किन आउँछौ ? शहरमा भएका धनीको घरमा जाउ न चोर्नलाई !”

मुसाले जवाफ दियो, ” जसको भाग्यमा जति हुन्छ त्यति नै पाउने हो । मेरो भाग्यमा तिम्रो खाना परेको छ ।”

केटाले सोध्यो, “मेरो भाग्यमा के लेखेको छ ? मलाई बताउ !”

मुसाले भन्यो, “त्यो कुरा तिमीलाई गौतम बुद्धले मात्र बताउन सक्नुहुन्छ।”

केटाले भोलिपल्ट बुद्धलाई भेट्ने अठोट गरी बाटो ततायो । ऊ हिंड्दा हिंड्दै रात पर्यो अनि ऊ बास बस्न एउटा महलमा पुग्यो । महलको मालिक दयालु थियो । उसले केटालाई बस्न र खान राम्रो दियो । मालिकले सोध्यो, ” बाबु ! तिमी कहाँ जान आँटेका छौ?” केटा आफुँ गौतम बुद्धलाई भेट्न जान लागेको बताए । त्यसपछि, मालिकले भने, “त्यसो भए मेरी छोरीको बारेमा पनि सोध्देउ है ! ऊ जवान भईसकी तर उसको बोली फुटेको छैन।” हस भन्दै केटाले टाउको हल्लायो ।

अर्को दिन फेरी ऊ बाटो लाग्यो । बाटोमा उसले हिमालमा तपस्या गरिरहेको एक जना जादुगरलाई भेट्यो । जादुगरले उसलाई कहाँ जान लागेको भनेर सोध्यो । केटाले आफुँ गौतम बुद्धलाई भेट्न जान लागेको बतायो । त्यसपछि, जादुगरले गौतम बुद्धलाई आफ्नो बारेमा पनि सोधिदिन आग्रह गर्यो । उसले भन्यो, “म १०० वर्षदेखि यहाँ तपस्या गरिरहेको छुँ तर अझै मुक्ति पाएको छैन । त्यसैले, मैले कहिले मुक्ति पाउँछु सोधिदेउ है !” ऊ हस भनेर अगाडी बढ्यो । बाटोमा ठूलो समुन्द्र आइपुग्यो । उसले कसरी तर्ने भनेर सोँचीरहेको थियो । त्यहीबेला, अचानक त्यहाँ एक विशाल कछुवा आईपुग्यो र उसले केटालाई समुन्द्र तारिदिने बतायो । कछुवाले पनि आफ्नो बारेमा सोधिदिन केटालाई आग्रह गर्यो । उसले भन्यो, “म ५०० वर्षदेखि तपस्या गरिरहेको छु तर ड्रयागन बन्न सकेको छैन । मेरो इच्छ्या कहिले पूरा हुन्छ सोधिदेउ है !” केटाले हस भनी हिंड्यो । त्यही दिन साँझ केटो गौतम बुद्ध भएको आश्रममा पुग्यो ।

गौतम बुद्ध दिनभरको प्रवचन सकेर आराम गर्न कुटीतिर जान लाग्नुभएको थियो । केटाले दण्डवत गर्दै बुद्धलाई आफ्नो प्रश्नको जवाफ दिन भन्यो । बुद्धले भन्नुभयो, “मैले केवल तिम्रो ३ वटा प्रश्नको जवाफ दिन सक्छु । प्रश्न सोध !”

केटाले आफ्नो भन्दा अरुका प्रश्न महत्त्वपूर्ण भएको ठानेर अरुका तीनवटा प्रश्न सोध्न थाल्यो । पहिलो प्रश्नमा उसले लाटी केटी कहिलेबाट बोल्ने छिन् भनेर सोध्यो । बुद्धले जवाफ दिनुभयो, “उक्त केटीको बिहे भएपछि ऊ बोल्न थाल्छे ।”

दोश्रो प्रश्नमा उसले १०० वर्षदेखि तपस्या गरिरहेको जादुगर कहिले मुक्त हुन्छ भनेर सोध्यो। बुद्धले जवाफ दिनुभयो, “जब त्यो जादुगरले आफ्नो जादुको छडी त्याग्छ, तब ऊ मुक्त हुन्छ।”

तेस्रो प्रश्नमा उसले त्यो ५०० वर्षदेखि समुन्द्रमा तपस्या गरिरहेको कछुवाको बारे सोध्छ । बुद्धले भन्नुभयो, ” जब त्यो कछुवाले आफ्नो कवच छोड्ने छ, तब ऊ ड्रयागन बन्ने छ ।”

आफ्नो प्रश्नहरुको उत्तर पाएर केटो खुसी हुन्छ । अर्को दिन ऊ आफ्नो शहर फर्किन हिंड्छ । बाटोमा सर्वप्रथम कछुवालाई भेट्छ र उसको उत्तर दिन्छ । कछुवाले आफ्नो कवच त्यागेर केटालाई दिन्छ जसमा हीरा, मोती जडिएका हुन्छन् । कछुवा पनि कवच त्याग्दा बित्तिकै ड्रयागन बनिहाल्छ ।

त्यसपछि, केटाले जादुगरलाई भेट्छ । जादुगरलाई जादुको छडी छाड्न बुद्धले दिएको संदेश सुनाउँछ । जादुगरले आफ्नो जादुई छडी केटालाई दिन्छ । छडी त्यागेपछि जादुगर मुक्त भई आकाशमा विलिन हुन्छ ।

जादुको छडी घुमाएर केटो सिधै आफूलाई बास दिएको धनीको घरमा आउँछ । अनि मालिकलाई बुद्धको उत्तर सुनाउँछ । मालिकले बिहे गर्नलाई केटोलाई नै प्रस्ताव गर्छन् । केटोले खुसी भई प्रस्ताव स्वीकार गर्छ र केटी पनि बोल्न थाल्छिन् ।

यसरी, एउटा गरिब केटाले भगवानलाई भेट्दा पनि आफूभन्दा अरुलाई अघि सारेर, अरुको भलो चिताएर एक समृद्ध र सुखी मान्छे बन्न सफल भयो ।

Share.

Comments are closed.