कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल. मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराएका हुन् ।

भारतसँग यसअघि नै जीटुजी (सकारदेखि सरकार) प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरिसकेको छ । पाँच वर्षका लागि भएको सम्झौताअनुसार पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि भारतबाट मल आउनमा ढिलाइ भइरहेको थियो ।

देशमा मलको हाहाकार भइरहेका बेला भारतसँग मलका लागि नेपालले पटकपटक छलफल गरेको थियो तर सम्झौताअनुसार मल आइरहेको थिएन । मल आउन ढिलो भएका कारण समस्या बढ्दै गएपछि कृषिमन्त्री यादव मलको विषयमा कुरा गर्नका लागि आफैँ भारत गए । सोही क्रममा उनले रसायन एवं उर्वरकमन्त्री मण्डावियासँग छलफल गरेपछि मल आउन सुनिश्चित भएको हो । कृषिमन्त्री यादवले अबको एक/डेढ हप्ताभित्र भारतबाट मल आउन सुरु हुने बताए।

उनले भने, “आज भारतका रसायनमन्त्रीसँग भएको छलफलअनुसार उहाँले सबै प्रक्रिया पूरा गरेर मल नेपाल पठाउन सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।” आफूले सुरुकै चरणमा एक लाख ५० हजार मेट्रिक टन मल पठाउन भनेको तर भारतले एकै पटक त्यति मल पठाउन सकिँदैन, बिस्तारै सबै मल पठाइदिने प्रतिबद्धता भएको मन्त्री यादवले बताए ।

भारतको भण्डारमा पर्याप्त मल छैन । टेन्डर गरिएको मल आइपुगेको छैन । भण्डारमा जे जति छ, तत्काल त्यसैबाट नेपाल पठाउने त्यहाँका मन्त्रीले प्रतिबद्धता जनाएका छन् । भारतले मल पठाउन सुरु गरेपछि धानका लागि मलको अभाव नहुने आफूले विश्वास लिएको उनले बताए ।

सम्भवतः यो महिनाभित्र ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्ने आफूहरूले विश्वास लिएको भ्रमणमा रहेका कृषिमन्त्री यादवको स्वकीय सचिव डा. दिनश यादवले बताए । भारतले मल पठाउन सकारात्मक भएको छ, यो महिनाभित्र नै नेपाल मल जान सुरु हुने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

Share.

Comments are closed.