गहिरो आर्थिक संकटमा फसिरहेको श्रीलंकापछि भारत पनि कतै आर्थिक संकटको दिशातर्फ त गइरहेको छैन भन्ने गाइगुईं सुनिन थालेको छ । यसको प्रमुख कारण भनेको भारतमा विदेशी मुद्राको सञ्चिती घट्दै जानु हो। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति ५८०.२५२ अर्ब डलरमा झरेको छ। यो विगत १५ महिनायताकै न्यून हो ।

आरबीआईको साप्ताहिक तथ्यांक अनुसार विदेशी मुद्रा सम्पत्ति (एफसीए) मा आएको गिरावटका कारण सबैभन्दा बढी असर परेको छ। योसँगै भारतमा सुनको सञ्चिति पनि घटेको छ। जुलाई ८ मा एफसीए ६ अर्ब ६५ करोड डलरले घटेर ५१८.०८९ अर्ब डलर पुगेको थियो।

एफसीए डलरबाहेक पाउन्ड, युरो र येनजस्ता मुद्रामा उतारचढ़ावबाट पनि प्रभावित छ। सुनको भण्डार १.२३६ अर्ब डलरले घटेर ३९.१८६ अर्ब डलर झरेको छ। यसबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोषको एसडीआर पनि १२.२ करोड डलरले घटेर १८.०१२ अर्ब डलर पुगेको छ।

जुन १९९१ मा भारतको विदेशी मुद्रा भण्डार लगभग खाली थियो। त्यतिबेला १ अर्ब डलरभन्दा कम बाँकी थियो। यो डलर बेल २० दिनमा तेल र खाद्यान्न बिलहरु भुक्तान गरेपछि सकिएको थियो। भारतसँग बाँकी विश्वसँग व्यापार गर्न पर्याप्त विदेशी मुद्रा पनि थिएन। भारतको बाह्य ऋण ७२ अर्ब डलर पुगेको थियो। त्यतिबेला भारत ब्राजिल र मेक्सिकोपछि विश्वको तेस्रो ठूलो ऋणी राष्ट्र थियो। देशको अर्थतन्त्र र सरकारप्रति जनताको विश्वास समाप्त हुन थालेको थियो। मुद्रास्फीति, राजस्व घाटा र चालु खाता घाटा दोहोरो अंकमा पुगेको थियो।

अहिलेको विदेशी मुद्राको गिरावटले कतै त्यही इतिहास दोहोरिने त होइन भन्ने शंका भारतीय जनतामा परेको देखिन्छ।

Share.

Comments are closed.