गहुँको मौज्दात गर्ने समयमा भारतले निर्यात रोक लगाएपछि नेपालका उद्योगलाई दुई महिनापछि कच्चा पदार्थको अभाव हुनसक्ने उद्योगीले बताएका छन् । गहुँको आन्तरिक उत्पादनले डेढ महिना मात्रै धान्ने र भारतबाट गहुँ आयात गर्न नसक्ने अवस्थामा कच्चा पदार्थको अभाव हुने सुनसरी–मोरङ कोरिडोरमा रहेका मैदा उद्योगका सञ्चालकले बताएका हुन् । यो कोरिडोरमा छवटा मैदा उद्योग छन् ।

मैदा उद्योगले वैशाखसम्म स्वदेशी गहुँ खरिद गरेर मौज्दात राख्ने र जेठदेखि भारतबाट आयात गर्दै आएका छन् तर यसपटक भारतले गहुँ निर्यातमा रोक लगाएपछि मैदा उद्योगसँगै, बिस्कुट र चाउचाउ उद्योगमा कच्चा पदार्थको अभाव हुने मोरङ व्यापार सङ्घका उपाध्यक्ष एवं विशाल मैदा मिलका सञ्चालक विकासकुमार बेगवानीले बताए ।

यस पटक कोरिडोरका मैदा उद्योग सञ्चालकले उधारो नउठेको समस्या र बैङ्कले ऋण दिन नमान्दा गहुँ आयातको प्रक्रिया ढिलो सुरु गर्ने तयारी गरिरहेका थिए । यसैबेला भारतले गहुँ निर्यातमा रोक लगाएपछि समस्या थपिएको ती उद्योगीले गुनासो गरेका छन् ।

उद्योगीले वैशाख १५ देखि जेठ १५ गतेसम्ममा वार्षिक खपत हुने गहुँको ४० प्रतिशतसम्म हिस्सा स्टक गर्दै आएका थिए । उद्योगी बेगवानीले चालू सिजनमा नेपालमा उत्पादन भएको गहुँ तीन हजार टन मात्रै स्टक गरिएको जानकारी दिए । बेगवानीका अनुसार वार्षिक २५ हजार टन गहुँ विशाल मैदा उद्योगले खपत गर्नेमध्ये १० हजार टन सुरु स्टक राख्ने गरिएको थियो ।

स्वदेशी उत्पादन न्यून

कृषि विकास निर्देशनालय प्रदेश १ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी सरस्वती पोखरेलका अनुसार अघिल्लो वर्ष ६२ हजार ११५ हेक्टर क्षेत्रफलमा एक लाख ४८ हजार २३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष ५७ हजार २०१ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको र यसमा एक लाख ४१ हजार ८२६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

तराई क्षेत्र गहुँ उत्पादन हुने मुख्य क्षेत्र हो । मधेस प्रदेशमा उत्पादन हुने गहुँको हिस्सा वीरगञ्जका उद्योगीले धेरै लिने गरेका छन् । त्यहाँ उत्पादन भएको गहुँले ९० दिनको माग धान्न सक्ने बताइन्छ । प्रदेश १ को उत्पादनले औद्योगिक–व्यापारिक मागलाई ४५ दिन मात्रै धान्ने गरेको छ ।

उद्योगी बेगवानीले प्रदेश १ र मधेसमा उत्पादन हुने गहुँले विराटनगरका छ र वीरगञ्जका आठ उद्योगलाई डेढ महिना मात्रै पुग्ने भएकाले भारतसँग भर पर्नुपर्ने भएकाले समयमै गहुँ आयात खुलाउन चासो देखाउनुपर्ने बताए ।

गहुँ प्रशोधन गरी तयार भएका वस्तु सर्वसाधारणको भान्सादेखि चौपाया गोठसम्म खपत हुने गरेको छ । चाउचाउ र बिस्कुट उद्योगका लागि गहुँ कच्चा पदार्थ हो ।

भारतीय गहुँमै निर्भर

उद्योगीले भारतको विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पन्जाब राज्यमा उत्पादन भएको गहुँ बिहारको फारबिसगञ्ज, सिमराही, गुलाबबाग, सहरसा, मोतीहारी र निर्मलीलगायतका क्षेत्रका व्यापारीमार्फत खरिद गर्दै आएका छन् ।

न्युट्री फुड्स प्रालिका सञ्चालक प्रदीप शारडाले भारतले विश्व खाद्य सुरक्षाअन्तर्गत छिमेकी देशलाई गहुँ उपलब्ध गराउने प्रावधानसहित रोक लगाएकाले अब सरकारको पहलबाहेक अर्को विकल्प बाँकी नरहेको बताए ।

आयात खुलाउने पहल गर्न माग

समयमै सरकारीस्तरको पहल सुरु नगर्दा डेढ महिनापछि नेपालमा एकै पटक धेरै प्रकारका समस्या देखिनेछन् । शारडाले सुरु स्टक नै १५ हजार टन राखेर आफ्नो मिल सञ्चालन गर्दै आएकामा यस वर्ष नौ हजार टन मात्रै जोगाड लाग्न सकेको जानकारी दिए । कृषिजन्य उद्योगलाई कच्चा पदार्थ अभाव हुन नदिन सरकारले उत्पादन बढाउन लगानी गर्न जरुरी रहेको उद्योगीले सुझाव दिएका छन् । आन्तरिक उत्पादनबाट उद्योगले खपत बढाउँदा ढुवानीलगायतको खर्च कम हुन गई लागत घट्न जाने भएकाले मूल्य पनि कम हुन्छ ।

आन्तरिक उत्पादन बर्सेनि घट्दै गए पनि सरकारी चासो नहुँदा छिमेकी देशले तोकेको प्रावधान पर्खनुपर्नेबाहेक अर्को विकल्प नभएको बाबा फ्लोर मिलका सञ्चालक भवेश राठीले बताए । राठीले सरकारले तत्काल पहल गरेर कोटा माग गर्न नसके असारपछि नेपालमा चाउचाउ र बिस्कुट उद्योगलाई कच्चा पदार्थको अभाव हुने र भान्सामा प्रयोग हुने पिठोको मूल्य बढ्ने दाबी गरे ।

नेपालमा उत्पादन भएको नयाँ गहुँको मूल्यसमेत ३२ प्रतिशतले वृद्धि भएकाले पिठोको मूल्यसमेत बढेको छ । गत वर्ष प्रतिकेजी २८ रुपियाँमा खरिद गरेको गहुँको मूल्य अहिले ३७ रुपियाँ पुगेको उद्योगीको भनाइ छ । रुस र युक्रेन विश्वका प्रमुख गहुँ उत्पादक मुलुक हुन् । यी दुई देशले मात्रै विश्वको मागको ४० प्रतिशत गहुँ आपूर्ति गर्दै आएका थिए ।

युद्धका कारण त्यो गहुँ अहिले अन्य राष्ट्रमा आयात भएर आउने अवस्था छैन, जसको फाइदा भारतले लिन खोजिरहेको उद्योगी बेगानीको भनाइ छ । अर्काे गहुँ उत्पादन धेरै गर्ने देश भारतमा यस वर्ष उत्पादन घटेको छ र गहुँ आपूर्तिमा विश्वले भारततर्फ हेरिरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष भारतमा गहुँको मूल्य प्रतिकेजी १० रुपियाँ बढेको छ ।

Share.

Comments are closed.