मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबार (साउन ९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड १६ लाख २५ हजार ९०० रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ८८ लाख ३ हजार ७०० रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ गरी १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्काशन गरेको सेयरमा साउन १२ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे साउन २३ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो सेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मर्केट लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नबिल इन्भेष्टमेन्ट क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले केयरएनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

केयर नेपालले कम्पनीको आईपीओलाई २०७८ असोज १८ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २०७९ असोज १७ गतेसम्म कायम रहन्छ ।

Share.

Comments are closed.