बैंक तथा वित्तीय संस्थाले मर्जरका नाममा लाभांश कर मात्र एक अर्ब ५९ करोड रुपैयाँ छली गरेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार गाभ्ने गाभिने प्रक्रियामा सहभागी संस्थामध्ये गाभिएकाले मात्र पाउने छुट गाभ्नेले पनि लिएपछि उक्त कर असुल गर्न सम्बन्धित निकायलाई महालेखाले निर्देशन दिएको छ । तर महालेखाले मर्जरमा पाइने पुँजीगत लाभकरका सन्दर्भमा भने तथ्यांक उपलब्ध नभएको बताएको छ ।

पुँजीगत लाभकरका सन्दर्भमा धितोपत्र बजारमा रहेका ५० वटै धितोपत्र दलाल कम्पनीको कारोबार छानबिन गरी गाभ्ने संस्थाका सेयरधनीले लिएको काुननविपरीत कर छुट असुल्न सम्बन्धित निकायलाई महालेखाले उल्लेख गरेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनमा ११ बैंक तथा लघुवित्त वित्तीय संस्थाहरूले मर्जर गर्दा आठ अर्ब २४ करोड ७६ लाख रुपैयाँ लाभ पाए । आयकर ऐनअनुसार यस्तो लाभमा ३० प्रतिशत कर लाग्छ । यसबापत लाग्ने दुई अर्ब ४७ करोड रुपैयाँभन्दा बढी कर छलेको प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनमा वित्तीय कारोबार गर्ने कम्पनी गाभिएपछि कायम भएका सेयरधनीहरूलाई लाभांशमा कर छुट दिएर सञ्चालकहरूले बदमासी गरेको उल्लेख छ । कानुनतः यस्तोमा गाभिएको अवस्थामा कायम भएका सेयरधनीलाई मात्रै कर छुटको व्यवस्था छ । तर, यी कम्पनीले गाभिएपछि कायम भएका सेयरधनीलाई कर छुट दिएको देखिन्छ । वित्तीय कारोबार गर्ने सात कम्पनीले एक अर्ब ५९ करोडभन्दा बढी करछली गरेका छन् ।

Share.

Comments are closed.