मर्जरका नाममा वर्षौसम्म सेयर कारोबार रोक्का हुने परिपाठीको अन्त्य हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मर्जरका नाममा वर्षौसम्म कारोबार रोकिने अवस्थाको अन्त्य गर्ने भएको हो।

“जलविद्युत र बीमा क्षेत्रको कारोबार रोक्नु पर्छ भन्ने कहीँ लेखिएको रहेन छ। तर नेपाल स्टक एक्सचेन्जले रोक्ने गरेको रहेछ। पहिलेदेखि नै रोक्न प्रचलन रहेछ। यस विषयमा किन रोकिएको हो ? भनेर मैले नेप्से प्रमुखसँग कुरा गरिसकेको छु। नेप्से पनि यस विषयमा सकारात्मक नै छ। हामी बीमा र हाइड्रोको सेयर कारोबार तुरुन्तै खोल्ने पक्षमा छौ। चाँडो भन्दा चाँडो यो विषयमा लगानीकर्ताले निकास पाउनु हुनेछ” नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने।

कुनै पनि हालतमा मर्जरमा गएका कम्पनीको कारोबार वर्षौसम्म बन्द गर्ने प्रणालीको अन्त्य गर्नै पर्छ भन्ने अडान अध्यक्ष हमालले लिएका छन्। उनी मर्जरमा गएका कम्पनीको सेयर कुनै पनि हालतमा रोकिन नहुने पक्षमा छन्। उनले मर्जरमा गएका सबै कम्पनीको कारोबार खुलाउने योजनामा काम गरिरहेका छन्। बीमा र जलविद्युत क्षेत्रको नियम नभएका कारण तुरुन्तै खोल्न सकिने उनको भनाइ छ।

कारोबार खुलाउने विषयमा बैंक वित्तीय संस्थाको हकमा भने राष्ट्र बैंकको विनियमावली बाधक बनिरहेको छ। त्यसमा पनि बोर्डले निरन्तर पहल गरिरहेको जनाएको छ। उसले बैंक वित्तीय संस्थाको समेत शेयर कारोबार खुलाउन राष्ट्र बैंकिसँग लगातार छलफल चलाउँदै आएको छ। त्यस विषयमा नेपाल राष्ट्र बैंक समेत सकारात्मक देखिएको बताइएको छ। “बैंकिङ सेक्टरको विषयमा पनि नेपाल राष्ट्र बैंकसँग हामीले लगातार कुरा गरिरहेका छौ। बैंकिङ सेक्टरको कारोबार चाहिँ राष्ट्र बैंककै विनियमावलीका कारण रोकी राखेको हो। यति लामो समयदेखि बन्द हुनु हुँदैन भनेर सुरुदेखिनै भन्दै आइरहेको छु। म बोर्डमा आएपछि गभर्नरसँग दुई तीन राउन्ड मिटिङ नै गरिसकेको छु। उहाँ पनि यो विषयमा सकारात्मक नै हुनुहुन्छ,” हमालले भने।

हमालले कारोबार खुलाउने विषयमा विषयको अध्ययन गर्न भन्दै टाक्स फोर्सलाई जिम्मा दिई सकेका छन्। द्रुत गतिमा निकास दिनु पर्ने भएकोले उक्त बिषयको जिम्मा टाक्स फोर्सलाई दिइएको हो। खासगरि बैंक वित्तीय संस्थाको हकमा के कति दिन सम्म रोक्ने भन्ने बिषयको अध्ययन टाक्स फोर्सले गर्ने छ। बन्द गर्नु पर्ने नियम नभएका कम्पनीको हकमा समेत केही सुझाव टाक्स फोर्सले समेट्ने बताइएको छ।

“बैंक वित्तीय संस्थाको हकमा समेत जसरी पनि निकास दिनै पर्छ। लगानीकर्तालाई यो विषयमा राहत पाउनै पर्छ। त्यसको लागि के कसरी निकास दिन सकिन्छ भनेर मैले टाक्स फोर्सलाई जिम्मा दिई सकेको छु। टाक्स फोर्सले के कति समय बन्दा गर्ने भनेर एक किसिमको खाका बनाउँदै छ” हमालले भने।

फोर्सले सबै खाले कम्पनीहरूको सेयर कारोबार १५ दिन भन्दा बढी बन्द नगर्ने गरी छलफल अघि बढाएको छ। कम्पनीहरूले १५ दिन भन्दा बढी कारोबार बन्द गर्न पाउनै छैनन्। त्यस भन्दा बढी दिन भएपछि नेप्सेले नै कारोबार सुचारु गरिदिने छ। “हामीले बढीमा १५ दिनसम्म कारोबार बन्द गर्ने गरी छलफल अघि बढाएका छौँ। तर यो प्रारम्भिक छलफल मै छ,” फोर्सका एक सदस्यले भने।

सेबोनको पक्षबाट यस प्रकारको कदम चालिनु एकदमै सकारात्मक कदम भएको सेयर विश्लेषक विष्णु प्रसाद बस्यालले बताएका छन् । यसले लगानीकर्तालाई राहत हुने उनले बताए । बस्याल मर्जर हुँदा सेयर कारोबार रोक्का गरिनु हुन्न भन्ने पक्षका दमदार अभियन्ता नै हुन्।

लामो समयदेखि मर्जरका नाममा वर्षौसम्म कारोबार रोकिने गरेको छ। बीमा र जलविद्युत कम्पनीको सेयर कारोबार रोक्नु पर्छ भन्ने कतै उल्लेख छैन। तैपनि नेप्सेले उनीहरूको समेत कारोबार रोक्दै आएको छ। नेप्सेले पहिलेदेखिनै कारोबार रोकिने गरेको भन्दै त्यसलाई निरन्तरता दिदै आएको छ। जुन कार्य ठिक नभएको भन्दै चर्को बहस चलिरहेको छ। जसमा बोर्डले समेत यस विषयलाई गम्भीरता पूर्वक लिएको छ। धितोपत्र बोर्डका नयाँ अध्यक्ष हमालले यस विषयमा निकास दिनु पर्ने लगानीकर्ताहरूको जोड छ। अब यस अन्यायबाट लगानीकर्ताले मुक्ति पाउने प्राय: निश्चित नै भएको छ।

Share.

Comments are closed.