नेपाल धितोपत्र बोर्डले मर्जरका लागि कम्पनीहरुको सेयर कारोबार रोक्का हुने समया घटाउन अर्को हप्ता निर्देशिका जारी गर्ने भएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुँदा नं. ९८ मा बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको समयमा हुने सेयर कारोबार रोक्काको राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी सेबोनको नियमबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख छ। मौद्रिक नीतिमा उल्लेख भएको उक्त व्यवस्थाअनुरुप सेबोन अध्यक्ष रमेशकुमार हमालले गत साउन १२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मर्जर तथा प्राप्तिको निर्देशिका जारी गरिने बताएका थिए। ‘आगामी १० दिनभित्रै मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका जारी गर्छौं’, उनले भनेका थिए, ‘आगामी २० दिनभित्र उक्त व्यवस्था कार्यान्वयन आउँछ।’

सेबोनका प्रवक्ता रुपेश केसीका अनुसार मर्जर तथा प्राप्तिको सेयर कारोबार रोक्काको कानुनी व्यवस्था गर्न निर्देशिकाको काम भइरहेको बताए। उनका अनुसार उक्त निर्देशिका अध्यक्ष हमालले भनेको समयसीमाभित्र नै ल्याउने तयारी भइरहेको छ।

अध्यक्ष हमालले नीति तथा कार्यक्रममा प्रस्तुत गर्दा सेबोनले १० दिनभित्रै मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका जारी गर्ने उल्लेख गरेका थिए। त्यसैले सेबोन अध्यक्ष हमालले भनेको समयसीमा अर्थात् साउन २२ गतेभित्र नै निर्देशिका ल्याउन सम्भावना प्रबल देखिन्छ।

‘लगानीकर्ताको चासोको विषय मर्जर तथा प्राप्तिका कारण लामो समयसम्म सेयर कारोबार रोक्का भएको भन्नेछ’, केसी भन्छन्, ‘लगानीकर्ताको पनि हित हुनुका साथै कारोबार पनि लामो समय नरोकिने हिसाबले कारोबार समयलाई घटाउन छलफल भइरहेको छ। समयसीमा कति राख्ने भन्नेबारे छलफल जारी नै छ।’

त्यसका साथै कम्पनी मर्जर तथा प्राप्तिमा जाँदा विभिन्न चरणमा छलफल हुने भएकाले उक्त किसिमका सूचना लगानीकर्तालाई समयमै सूचीकृत गराउने व्यवस्था निर्देशिकामा समावेश गर्न पनि छलफल भइरहेको केसीले जानकारी दिए।

नेप्सेको सूचीकरण शाखाबाट प्राप्त डेटाअनुसार मर्जर तथा प्राप्तिका कारण अहिले नेप्सेमा सूचीकृत ३१ कम्पनीको सेयर कारोबार रोक्का छ।

Share.

Leave A Reply