नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकमध्ये हाल दोस्रो बजारमा ६ वटा वाणिज्य बैंकको सेयर कारोबार बन्द रहेको छ।

नेप्सेले मर्जर र प्राप्ति जाने सम्झौता गरेका ६ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, सिभिल बैंक, मेगा बैंक र सेञ्चुुरी कर्मसियल बैंकको सेयर कारोबार रोक्का भएको छ। सेञ्चुरी बैंकलाई प्रभुले आइतबार प्राप्ति गर्ने सम्झौता गरेको छ। यो सम्झौतासँगै आजबाट सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का गरिएको हो।

इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते शुक्रबार मर्जर सम्झौता भएको थियो। नेप्सेले यी दुवै बैंकको सेयर कारोबार जेठ २९ गते आइतबारदेखि रोक्का गरेको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले असार २ गते बिहीबार बिहान मर्जरमा जाने सम्झौता गरेका थिए। ती दुुवै बैंकको सोही दिनदेखि सेयर कारोबार गरिएको छ। नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने गरी समान हैसियतमा मर्जरमा जाने सम्झौता भएको हो।

हिमालयन बैंकले सिभिल बैंकलाई गत असार २९ गते प्राप्ति गर्ने सम्झौता गरेको थियो। योसँगे नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरेको छ। हिमालयनले सिभिललाई १००ः८१ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने सम्झौता भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको कुल १८ करोड ३० लाख ७५ हजार ४१४ कित्ता सूचीकृत भएकोमा त्यसको कुल बजार पुँजीकरण ४८ अर्ब ५१ करोड ४९ लाख ८४ हजार ७१० रुपैयाँबराबरको छ। बैंक अफ काठमाण्डूको १० करोड ६२ लाख ३९ हजार ९४१ कित्ता सूचीकरण भएकोमा कुल बजार पुँजीकरण २४ अर्ब १२ करोड ७० लाख ९० हजार ६०१ रुपैयाँ रहेको छ।

यस्तै ग्लोबल आइएमई बैंकको २३ करोड ७९ लाख ५७ हजार ५३५ कित्ता नेप्सेमा सूचीकृत रहेको छ। यसको कुल बजार पुँजीकरण ५९ अर्ब ८२ करोड २५ लाख २४ हजार २९९ रुपैयाँ छ।

त्यसैगरी सिभिल बैंकको ९ करोड ७ लाख ५८ हजार ४४२ कित्ता सूचीकृत रहेकोमा कुल बजार पुँजीकरण १९ अर्ब ३३ करोड १५ लाख ४८ हजार १४६ रुपैयाँ छ। १६ करोड १२ लाख ४ हजार ६१५ कित्ता सूचीकृत रहेको मेगा बैंकको कुल बजार पुँजीकरण ३६ अर्ब ४३ करोड २२ लाख ४२ हजार ९९० रुपैयाँ छ। सेञ्चुरी बैंकको कुल ९५ करोड ५३ लाख ९ हजार ९३ कित्ता सेयर रोक्का भएको छ । जसको बजार पुँजीकरण १८ अर्ब ४३ करोड ९० लाख ९४ हजार ७५६ रुपैयाँ रहेको छ।

अहिले ६ वटा वाणिज्य बैंकको मात्रै २ खर्ब ६ अर्ब ६६ करोड बढीको सेयर रोक्का रहेको छ।

Share.

Leave A Reply