नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमाथि कारबाहीको सिफारिस गरेको हो। इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेको आरोपमा हिमालयन बैंकलाई कडा कारबाहीको सिफारिस गरिएको हो । केन्द्रीय बैंकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकलाई भने कम कारबाही गर्ने निर्णय गरिएको छ। बिहिबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन बैंकलाई कडा कारबाही गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकलाई सचेत गराउने निर्णय गरेको थियो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको सबै प्रक्रिया पुगिसकेको मर्जर भाँड्नमा हिमालयन बैंकको सञ्चालक समितिको हात रहेको भन्दै हिमालयन बैैंकका सञ्चालकहरुलाई कारबाही गर्ने निर्णय गरेको छ। मर्जरसम्बन्धी विशेष प्रस्ताव हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत गरेको थियो ।

मर्जर सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैंकले मतदानमार्फत पारित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मतदान भएको हो । मर्जर प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयरधनीले स्वीकृत जनाउनुपर्ने थियो । तर कर्मचारी संचयकोष, एन ट्रेडिङ कम्पनी, छायाँ इन्टरनेशनललगायत कम्पनीसहितले असहमति जनाएपछि ४२ प्रतिशत मत विपक्षमा आएका थिए ।

हिमालयन बैंकमा संचय कोषको १४.८७ प्रतिशत सेयर लगानी छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यसरी ३६.५८ प्रतिशत सेयरधनीको असहमतिपछि हिमालयन बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुन सकेन ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर लगानी छ । यो बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । दोस्रो ठूलो सेयरधनी कर्मचारी सञ्चय कोष हो । बैंकमा कोषको १४.८७ प्रतिशत सेयर छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर छ । शशिकान्त अग्रवालको २.६५ प्रतिशत, अन्जु खेतानको ०.७७ र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत सेयर लगानी छ । बाँकी सेयर सर्वसाधारण र साना लगानीकर्ताको छ ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेदेखि नै हिमालयन बैंक सञ्चालक समितिमा मतभेद देखिएको थियो । संस्थापक लगानीकर्ताहरु हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए ।

Share.

Comments are closed.