कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डमध्ये एक मास्कको अनिवार्य प्रयोग हो। सही ढंगले मास्कको प्रयोग गर्दा संक्रमणबाट बच्न सकिन्छ तर अर्कोतर्फ मास्कको धेरै प्रयोग गर्दा यसले छालामा नकारात्मक असर गर्ने देखिएको छ ।

नेपालमा कोरोना महामारी शुरु भए यता छालामा विशेष गरी मास्क लगाउने अनुहारको भागमा धेरै नै समस्या बढेको पाइएको चिकित्सकहरु बताउँछन्। खासगरी अहिले मास्कको प्रयोगका कारण चार मुख्य समस्याहरु देखिएको बताइन्छ।

पहिलो, मास्क प्रयोग गर्दा यसको डोरीले जुन जुन भागमा छुन्छ त्यो भाग रातो हुने, चिलाउने, खटिरा आउने देखिएको छ । यसमा विशेष गरी मास्कको डोरी अड्याउने कानको पछाडीको भाग, मास्क कसिलो बनाउने नाक र गालाको भागमा पनि समस्या हुने गरेर बिरामी आउने गरेका छन्। कसिलो गरी मास्क लगाउँदा यो समस्या देखिएको छ ।

दोस्रो, मास्क लगाएको भागमा मुखको वरिपरी बाफिएर बढी चिल्लोपना भएर डन्डीफोर, स साना बिबिरा आउने चिलाउने, रातो हुने देखिएको छ । तेस्रो, मास्कमा जुन मटिरियल प्रयोग भएको छ त्यसबाट नै हुने एलर्जीका कारण पनि समस्या भएको देखिन्छ । चौथोमा पहिलोदेखि छालामा समस्या भएकालाई मास्कको प्रयोगले झनै समस्या गराएको छ । बिबिरा आइरहने, रातो हुने, पोल्ने जस्ता समस्या झन बढेको पाइएको छ।

यी समस्याबाट बच्न के गर्ने ?

कोरोना माहामारीबाट बच्न मास्क लगाउन पर्नु एक अनिवार्य शर्त पनि हो । त्यसैले मास्क लगाउँदा केही सावधानी अपनाए छालामा देखिने यी समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

पहिलो कुरा त मास्कको प्रयोग गर्नु अघि आफूले लगाउने मास्क गुणस्तरीय छ छैन हेर्न आवश्यक हुन्छ । आजभोलि बजारमा अनेक किसिमका मास्क पाइन्छन् त्यसैले गुणस्तरीय मास्कको छनौट गर्न सक्नुपर्छ । अर्को कुरा मास्क लामो समयसम्म लगाउनुपर्ने अवस्थामा हुनुहुन्छ भने मास्कको डोरीलाई कानमा नराखी टाउकोको पछाडी बाँध्नेवाला मास्कको प्रयोग गर्दा राम्रो हुन्छ । जस्तो स्वास्थ्यकर्मीले एकैपटक लामोसमयसम्म मास्क लगाउनुपर्ने हुन्छ । उनीहरुले कानमा डोरी लगाउँदा यसले डोरी रगडीएर समस्या बनाउँछ ।

यसैगरी मास्कको प्रयोग गर्ने बेलामा महिलाहरुले यदि केही क्रिम लगाउने हो भने उक्त क्रिम लगाएको २०-२५ मिनेटपछि मात्र मास्क लगाउनु पर्छ अन्यता क्रिम लगाउने बित्तिकै मास्क लगाउँदा मास्कले नै सबै क्रिम सोसेर एलर्जी निम्त्याउन सक्छ । यसका साथै मास्क लगाउनु छ भने सकेसम्म लिपिस्टिक नलगाएको राम्रो । यदि लगाउनै परेमा राम्रो खालको ओठलाई सुख्खा हुन नदिने चिपिस्टिक लगाउँदा ठिक हुन्छ । अर्को कुरा मास्कको सफाईमा पनि ध्यान दिनुपर्ने हुन्छ । एउटै मास्क धेरै दिन लगाउन हुँदैन्।

यसैगरी जसलाई मेडिकल मास्क लगाउँदा बढी नै बिबिरा आउने, छाला रातो हुने हुन्छ उनीहरुले नरम कटन कपडाको मास्कको प्रयोग गर्न उचित हुन्छ । यसले एलर्जीको सस्मया कम भएर जान्छ । मास्कको प्रयोग गरेपछि अफिस, कार्यक्रम जहाँ भए पनि सकेसम्म ३ \३ घण्टामा एकान्तमा कोही नभएको ठाउँमा गएर १० \१५ मिनेटका लागि मास्क खोल्नुपर्छ । यति मात्र गरियो भने धेरै हदसम्म मास्कबाट आउने समस्याबाट बच्न सकिन्छ । समस्या बढेर बढी नै डन्डीफोर आउने, रातो हुने, दुख्ने भएमा विशेषज्ञ चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।

Share.

Comments are closed.