मिर्गौलाको रोग निकै जटिल प्रकारको हुन्छ ।एकपटक मिर्गौला फेल भइसकेपछि यसको उपचार प्रक्रिया धेरै खर्चिलो र झन्झटिलो हुन्छ ।मिर्गौला फेल भइसकेपछि डाइलाइसिस वा प्रत्यारोपण बाहेक अर्को विकल्प पनि छैन्।

तथ्यांकले नेपालमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको देखाउँछ । सन् २०१६ मा ३० हजारको आसपास रहेको यो संख्या हाल आएर १ लाख पुगेको अनुमान छ। आजकल सानै उमेरदेखि नै मिर्गौलामा समस्या देखिन थालेको पनि छ । त्यसैले मिर्गौला बिग्रन नै नदिनका लागि हामीले शुरुदेखि नै हाम्रो जीवनशैली स्वस्थ बनाउन जरुरी छ ।

मिर्गौला बिग्रिने मूख्य पाँच कारण यस प्रकार छन्:

उच्च रक्तचाप

उच्च रक्तचाप मिर्गौलाको रोग लाग्नु पछाडिको प्रमुख कारण हो । जब कुनै व्यक्तिमा उच्च रक्तचापको समस्या हुन्छ, तब उसले नियमित रुपमा आफनो मिर्गौला ठीक छ की छैन भन्ने जान्नका लागि परिक्षण गर्न जरुरी हुन्छ ।

मधुमेह

मधुमेह अर्को महाशत्रु हो मिर्गौलाका लागि । मधुमेहको समस्या भएका बिरामीको सुगर लेबल नियन्त्रण भएन भने यसले सिधै मिर्गौला बिगार्छ । त्यसैले मधुमेहको समस्या भएका बिरामीले आफनो मिर्गौला जोगाउनका लागि सुगर नियन्त्रण मा राख्न अत्यावश्यक हुन्छ । त्यसो त मधुमेह भएका बिरामीको मुटु आँखा ,नसा लगायतका अंगमा पनि समस्या देखिने गर्छ । त्यसतर्फ बेलैमा सजग हुनुपर्छ ।

जथाभावी औषधिको प्रयोग

कतिपय मानिसहरुले सामान्य त हो भनेर आफूखुशी फार्मेसीबाट ल्याएर औषधि खाने गर्छन । तर यसले मिर्गौलामा असर गरिरहेको हुन्छ । यसको हेक्का सबैले राख्नैपर्छ । आफूखुशी यस्ता पेनकिलर, एन्टिबायोटिक खाँदा यसले मिर्गौलालाई असर गर्न थाल्छ र बिस्तारै मिर्गौला फेल हुनतर्फ जान्छ ।

अस्वस्थकर खानेकुरा

अहिले बजारमा अनेक थरीका रंगीचंगी खानेकुराहरु पाइन्छन्। यस्ता जंकफुड मिर्गौलाका लागि खराब हुन्छन्। त्यसो त यस्ता खानेकुराले मिर्गौला मात्र हैन, अन्य अंगरुलाई पनि क्षति पुराइरहेको हुन्छ ।

शारीरिक व्यायामको कमी

नियमित शारीरिक व्यायाम स्वास्थ्यको अत्यन्त जरुरी हुन्छ । प्रत्येक दिन केही समय छुट्याएर शारीरिक अभ्यास गर्ने, हिंड्ने वा योग-ध्यान, प्राणायम आदि गर्न जरुरी छ । तर अनियन्त्रित रुपमा खानेकुरा खाने अनि शारीरिक अभ्यास नगर्दा यसले मोटोपना निम्त्याउँछ । सँगसँगै चिनीरोग र मिर्गौला रोग पनि देखिन्छ।

यसबाहेक वंशाणुगत कारण पनि मिर्गौलामा समस्या देखिन सक्छ । यसका साथै नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मिर्गौलामा भएको सानो समस्या पछि मिर्गौला फेल हुनेसम्म पुग्नसक्छ।। त्यसकारण, नियमित स्वास्थ्य परिक्षण गर्न जरुरी देखिन्छ जसले हामीलाई बेलैमा सजग बनाई स्वास्थ्य बिग्रनबाट जोगाउँछ ।

Share.

Comments are closed.