गर्मी मौसम चरम सीमा तर्फ बढिरहेको छ। यसले गर्दा दिनदिनै स्वास्थ्य समस्या पनि बढिरहेको देखिन्छ।

जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण विश्वको तापमान दिनप्रतिदिन बढ्ने क्रममा छ। आजकल अलि अलि पानी परे पनि गर्मी भने कम भएको छैन। तराई र आसपासका जिल्लामा गर्मीका कारण जनजीवन आक्रान्त छ। विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ।

मानव शरीरले ९७ देखि ९९.७ डिग्री सेल्सियससम्मको तापक्रम सहन सक्छ। अत्यधिक गर्मीमा शरीरको तापक्रम बढेर १०१ भन्दा माथि पुग्न सक्छ, जसलाई ‘हाइपरथर्मिया’ भनिन्छ।

हाइपरथर्मिया शरीरले तापक्रमलाई नियन्त्रण गर्न नसकेका कारण हुने गर्छ। जसले गर्दा टाउको दुख्ने, बेहोस हुने, हात–खुट्टा काँप्नेजस्ता समस्या आउन सक्छन्। चर्को घाममा हिँड्दा अनुहार रातो हुने र रिंगटा लाग्ने समस्या आउँछन्।

गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले उनीहरूको विशेष ख्याल राख्नुपर्छ। यदि, पिसाब पहेँलो आउँछ भने शरीरमा पानी अपुग भएकाे बुझिन्छ। त्यसैले गर्मी मौसममा सकेसम्म धेरै पानी पिउनुपर्छ।

अत्यधिक पसिनाका कारण कतिपय अवस्थामा शरीरमा सोडियम, पोटासियम र नुनको मात्रा कम हुन्छ। यस्तो अवस्थामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। त्यसैले फलफूलको रस पनि पिउनुपर्छ ।

सकेसम्म चर्को घाममा बाहिर निस्कनुहुँदैन। बाहिर निस्कनुपरे छाताप्रयोग गर्नुपर्छ। कालो रङको छाता ओढ्नाले घामको किरण सीधा शरीरमा पर्न पाउँदैन । कपडा भने सकेसम्म कालो लगाउनुहुँदैन।

यात्राका क्रममा गाह्रो भएमा चाँडो शीतल ठाउँमा गएर बस्नुपर्छ । त्यस्तै, घर वा कार्यालयमा बस्दा पनि पंखा, कुलर वा एसी प्रयोग गर्न सकिन्छ ।

उच्च रक्तचाप, मधुमेह, ज्वरो, झाडापखाला, मेनेन्जाइटिसजस्ता समस्या भएका मानिसलाई गर्मीले बढी असर गर्छ । उनीहरूमा चाँडो डिहाइड्रेसनको समस्या हुन सक्छ । तसर्थ, सचेत भई प्रशस्त मात्रामा पानी पिउन पर्छ । अलि बढी गाह्रो भए अथवा हाइपरथर्मियाको लक्षण देखिए नजिकैको अस्पतालमा सम्पर्क गर्नु उपयुक्त हुन्छ।

Share.

Comments are closed.