आगामी आर्थिक वर्षको बजेट घोषणा हुन अब दुई महिना पनि छैन । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटिसकेको छ ।‘क्यालेन्डर’ नै बनाएर बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयले चैत १ गते औपचारिक रूपमा बजेट निर्माण सुरु भएको घोषणा गरिसकेको छ । अर्थमन्त्री जनार्दन शर्मासहित अर्थ मन्त्रालयका अधिकारी विभिन्न क्षेत्रका सरोकारवाला र विज्ञसँग परामर्श गरिरहेका छन् ।

मन्त्रालयले सरोकारवालासँग छलफल तथा सुझाव लिने कामलाई निरन्तरता दिइरहेको अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले जानकारी दिए । “बजेटका लागि सार्वजनिक रूपमै सुझाव माग्नेदेखि अर्थमन्त्रीबाट पनि सरोकारवालासँग निरन्तर छलफलको कार्यक्रम भइरहेको छ,” उनले भने।

अर्थ मन्त्रालयले अन्य मन्त्रालय/निकायसँग आव २०७९/८० को बजेटमा समावेश गरिने नीति तथा कार्यक्रमको उपलब्धि सूचक पनि माग गरिसकेको छ । त्यस्तै प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाको मार्गदर्शन पठाउने, ससर्त अनुदानको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेशका प्रतिनिधिसँग गरिने छलफलको तालिका स्वीकृत गरी पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

यसबाहेक राष्ट्रिय योजना आयोगमा चैत १० गतेदेखि बजेटसम्बन्धी नीतिगत छलफल पनि सुरु भइसकेको छ । मन्त्रालयले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट निर्माण हुने जनाएको छ ।

यतिबेला अर्थ मन्त्रालयमा पाँच जनाको टोलीले नयाँ बजेटको मस्यौदा तयार गर्ने काम गरिरहेको छ । सरोकारवालासँगको छलफलको आधारमा प्राप्त सुझावलाई समेटेर मस्यौदा लेख्ने काम सुरु भइसकेको प्रवक्ता निरौलाले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा फागुन २९ गते बसेको बैठकले मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेको थियो । समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी छन् ।

यस वर्ष १७ खर्बको बजेट आउने स्रोतले बताएको छ ।

Share.

Comments are closed.