वर्षौँको युद्धले क्षतविक्षत पूर्वी अफ्रिकी राष्ट्र सुडानमा पछिल्लो समयमा भएका आदिवासी हिंसामा एकसय ४५ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय मामिला समन्वयसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए)ले यो महिना भएका झडपमा कम्तिमा एक सय ४५ जनाको मृत्यु भएको र एकसय ८० जना घाइते भएका जनाएको हो । हालैका वर्षमा सबैभन्दा घातक हिंसा पश्चिमी डार्फर र दक्षिण कोर्डोफान प्रान्तमा बढिरहेका छन् । 

निरङ्कुश शासक ओमार अल–बसिरलाई सन् २०१९ मा सेनाले पदच्युत गरेपछि देशमा लोकतान्त्रिक शासनको बहाली हुने अपेक्षा गरिएको थियो तर त्यो अपेक्षामात्र रह्यो । गत साता पश्चिम डार्फरको कुलबस शहरमा अरब र अफ्रिकी जनजातिबीच जग्गा विवादलाई लिएर हिंसात्मक मुठभेड भए । स्थानीय अरब लडाकाले धेरै गाउँमा घातक आक्रमण गरे । हप्ताभरि भएको दोहोरो झडपमा गिमिर जनजातिका १०१ र अरब रिजेगट जनजातिका २५ जनासहित कुल १२६ जना मारिए । त्यस क्रममा एकसय ३० जनाभन्दा बढी  गैर–अरब जनजाति घाइते भए ।

ओसीएचएले कुलबुस क्षेत्रका कम्तीमा २५ गाउँमा आक्रमण, लुटपाट र आगजनीका घटना भएका तथा पश्चिम डार्फर र छिमेकी उत्तर दारफुर प्रान्तमा झडप फैलिदा कम्तिमा ५०,००० सर्वसाधारण आफ्नो घर छोडेर भाग्न बाध्य भएका बताएको छ । यो महिनाको शुरुमा दक्षिण कोर्डोफानमा छुट्टाछुट्टै भएका जनजाति झडपमा कम्तिमा १९ जनाको मृत्यु भएको र अन्य ५४ जना घाइते भएका थिए । 

अबु जुबाह शहरमा तीन दिनसम्म चलेको हिंसामा तीनपाङ्ग्रे सवारी साधनको लुटपाट बढेको, शहरका छ वटा क्षेत्र जलाइएपछि १५ हजारभन्दा बढी विस्थापित भएका जनाउँदै ओसीएचएले उक्त क्षेत्रमा सेना तैनाथ गर्नुपरेको बताएको छ । सैनिक परिचालन र निषेधाज्ञा जारी हुँदासमेत स्थिति तनावपूर्ण रहेको छ । 

गत हप्ताको युद्ध दुई दशकको द्वन्द्वले ध्वस्त पारेको पश्चिमी सुडानको विशाल क्षेत्र डार्फरमा आदिवासी हिंसाको पछिल्लो मुठभेड हो । पछिल्लो हिंसाले यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घको संयुक्त शान्ति सेना परिचालन नगर्ने  निर्णयमाथि प्रश्न उठाएको छ ।

जातीय अफ्रिकीहरूमाथि सरकारले भेदभाव गरेको आरोप लगाउँदै राजधानी खार्तुमबाट सन् २००३ मा सुरु भएको डार्फर द्वन्द्वले उग्ररूप लिएपछि सैन्य विद्रोहबाट अल बसिरलाई सन् २०१९ मा सत्ताच्युत गरियो । खार्तुमको जेलमा रहेका उनलाई एक दशकअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतले डार्फरमा भएको नरसंहार र मानवताविरुद्धको अपराधको अभियोग लगाएको थियो ।

Share.

Comments are closed.