सुनसरीको कोसी गाउँपालिका–३, पश्चिम कुशाहाका ५० वर्षीय गुलाबी मुखियाको जीविकोपार्जन माछा मारेर चल्दै आएकामा केही वर्षयता उनको पेसामा असर परेको छ । मुखियाजस्तै स्थानीय रमेन्द्र बहरदारलाई पनि जीविकोपार्जनको पुख्र्यौली पेसामा लागिरहन सक्ने अवस्था छैन । कोसी नदीमा माछा घटेपछि उनीहरूको जीविकोपार्जनमा सङ्कट आएको हो ।

कोसी नदीमा माछा मारेर आयआर्जन गर्दै आएका यहाँका मलाहा समुदायले माछा मारेर खाने र बिक्री गरेर घरको गर्जो टार्ने काम गर्दै आएका छन् तर २०६५ सालमा कोसी कटान र नदीमा विषादी प्रयोग, पानीमा एकरूपता नहुनुलगायतका कारण पहिलेजस्तो माछा पाइन छाडेको छ । माछा नपाउँदा आफ्नो जीविकोपार्जनमै सङ्कटमा परेको मलाहा समुदायले गुनासो गरेका छन् ।

एक दशकअघिको बाढीले कोसीका माछा बगाउँदा अहिलेसम्म नदीमा कमै माछा रहेको मलाहाको भनाइ छ । रमेन्द्र बहरदारले आफूहरूको तीन पुस्ता कोसी किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय माछाको प्रजाति घटेको बताए । विगतमा एक दिनमा एक मलाहाले कम्तीमा १० केजीसम्म माछा मार्दै आएकामा हाल दिनभरमा मुस्किलले एक-दुई केजी माछा पाउन समस्या रहेको बहरदारको गुनासो छ ।

कोसी क्षेत्रमा बसोबास गर्ने मलाहा, माझी, बहरदार, सरदारलगायतका समुदायले वर्षौंदेखि माछा मारेर जीवनयापन गर्दै आएकामा हाल आएर कोसीमा माछा कम भएसँगै आफूहरूको पुख्र्यौली पेसा सङ्कटमा परेको अर्का स्थानीय गुलाबवती मुखियाले बताए ।

आफूहरूको पुर्खाले तीन पुस्तासम्म कोसीमा माछा मारेर बेच्दै गुजारा चलाउँदै आएकामा हाल आएर माछा कम भएपछि जीविकोपार्जनमा समस्या भएको र मलाहा समुदायका युवा अन्य पेसामा लाग्न थालेको स्थानीय रमेश मुखियाले बताए । कोसी क्षेत्रमा सुनसरीको हालको कोसी गाउँपालिकाको हरिपुर, भान्टाबारी, श्रीपुर, पश्चिम कुशाहा, लौकही र वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, मधुवन र महेन्द्रनगरलगायतका माझी, मलाहा, बहरदारलगायतको पुख्र्यौली पेसा सङ्कटमा परेको मुखियाले जानकारी दिए ।

वराहक्षेत्र नगरपालिका–११, मधुवनका राजेश्वर बहरदारले आफू ४० वर्षदेखि कोसीमा माछा मार्दैआएकामा विगतको भन्दा हाल १० प्रतिशतसमेत माछा पाउन मुस्किल रहेको बताए । विगतमा कोसीको माछा देशभरि तथा भारतमा समेत प्रख्यात मानिएकामा हाल केहीलाई छाक टार्न र केहीलाई बेचेर पैसा कमाउन समस्या भएको बहरदारले गुनासो गरे । स्थानीय राजेश माझीले सप्तकोसी नदीमा माछा अत्यन्तै पातलिएको बताए। उनले दिनभरिमा एक-दुई किलो माछा मार्न पनि गाह्रो हुने गरेको गुनासो सुनाए ।

माछा मारेर सुनसरीको स्थानीय कोसी ब्यारेज, भान्टाबारी, इनरुवा, झुम्का, इटहरी, विराटनगरसम्मको बजारमा बिक्री गर्दै आएकामा हाल मुखिया र बहरदार परिवारमा माछाको तरकारी खानै नपुग्ने उनीहरू बताउँछन् । सुनसरी र सप्तरीका चार गाउँपालिका तथा नगरपालिकाका तीन मलाहा परिवार र बहरदार तथा माझीहरूले कोसी बाढीअघिसम्म राम्रो माछा मार्ने गरेको भए पनि हाल आफूहरूको रोजीरोटी नै नचल्ने अवस्था सिर्जना भएको भान्टाबारीका मुकेश बहरदारले बताए ।

लाइसेन्स दिएर माछा मार्न दिए पनि कोसीमा माछा नै पाउन छाडिसकेकाले केहीले माछा मार्ने र बिक्री गर्ने व्यापार व्यवसाय नै छाडिसकेको सुनाए । बहरदारले भने, “हामी त माछा मारेर जीविका चलाउँछौँ । पुर्खालाई खुसी पार्न पनि माछा मार्ने पेसा अँगाल्नुपर्छ ।” सुनसरी र सप्तरी जिल्लाको गरी करिब तीन सय परिवार मलाहा, माझी, बहरदारले वर्षौंदेखि माछा मार्ने पेसा अँगाल्दै आएका छन् ।

Share.

Comments are closed.