वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गर्नु भएको छ ।

साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर सम्झौता गरी युद्ध अन्त्य गर्न सोमबार आह्वान गर्नु भएको हो ।हजारौं नागरिकको ज्यान जानेगरी भएको सात वर्ष लामो युद्धलाई राजनीतिक तरिकाले अन्त्य गर्नुपर्नेमा उहाँको जोड छ ।

“हुथी विद्रोही साथीहरू यमनको राजनीतिको मूल धारमा आउनु होस, वार्ता मार्फत विवाद समाधान गरी युद्ध अन्त्य गर्नुहोस्, मुलुकमा शान्ति कायम होस,” उहाँले भन्नुभयो । साउदी अरबको राजधानी रियाद स्थित आफ्नै निवासमा आफ्नै सरकारका मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले हुथी विद्रोहीलाई शान्ति वार्ता मार्फत शान्तिपूर्ण राजनीतिमा ल्याउनु पर्नेमा जोड दिनु भएको हो ।

शान्तिपूर्ण तरिकाले देशको राजनीतिक द्वन्द्व अन्त्य गर्न हामी हात दिन चाहन्छौँ, सहकार्य गर्न चाहन्छौँ, त्यसका लागि हामी सबैले पहल गरौँ, उहाँले भन्नुभयो ।संयुक्त राष्ट्रसंघको संयोजनमा घोषणा गरेको दुई महिने युद्ध विराम शनिबार अन्त्य भएकोले त्यसैको पर्सी पल्ट उहाँले यस्तो आह्वान गर्नु भएको हो ।यमनमा सन् २०१४ देखि इरान समर्थित युही विद्रोही र साउदी अरब समर्थित सरकारका बीचमा युद्ध हुदै आएको थियो ।

युद्धका कारण यमनमा दशौँ हजार मानिसको मृत्यु भएको र ४० लाख विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ ।

Share.

Comments are closed.