विश्वका धेरै देशहरु टांट पल्टिने अवस्थामा पुगेका छन् । हामीले श्रीलंकाको बारे सुनेका छौँ तर दर्जनौं अन्य देशको हालत श्रीलंका जस्तै हुने देखिएको छ ।

आर्थिक संकटका कारण श्रीलंकाको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर भागिसकेका छन् । अर्कोतर्फ जनता सडमा उत्रेका छन् ।

महंगीका कारण श्रीलंकन नागरिककाे जीवनयापन अत्यन्त कष्टकर बन्दै गएको छ । श्रीलंका भारी रुपमा विदेशी ऋणमा डुबेका कारण पनि टांट पल्टेको हो ।सो देशमा पेट्रोल डिजेलको अभावका कारण निकै लामो लाइन लाग्नुपरेको छ । यसैबीच श्रीलंकन सरकारले पेट्राेल डिजेलको मूल्य सामान्य घटाएको छ ।

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार श्रीलंकन सरकारको सीलोन पेट्रोलियम कर्पोरेशनले आइतबार डिजेल र पेट्रोलको खुद्रा मूल्य २० रुपैयाँले घटाउने निर्णय गरेको थियो । फेब्रुअरीपछि पाँच पटक बढेको इन्धनको मूल्य पहिलो पटक गिरावट भएको हो ।

विश्वमा श्रीलंका मात्र यस्तो राष्ट्र होइन जसले आर्थिक संकट झेलिरहेको छ । श्रीलंकाभन्दा पहिले अमेरिकी देश अर्जेन्टिना पनि सन् २००० देखि २०२० सम्ममा दुई पटक टांट पल्टेको छ । २०१२ मा ग्रीस, १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडर पनि गम्भिर आर्थिक संकटमा परेका थिए । यस बाहेक जर्मनी, जापान, बेलायत जस्ता ८३ राष्ट्रहरु अलग अलग समयमा टांट पल्टेका थिए ।

बीबीसीको एक रिपोर्ट अनुसार यस वर्ष श्रीलंका बाहेक लेबनान, रुस, सुरीनाम र जाम्बियाले पनि केहि समययता ऋण तिर्न सकेका छैनन् जसकारण यी राष्ट्रहरू आर्थिक संकटमा परेको घोषणा भइसकेको छ ।

यसैगरी, बेलारुस, म्यानमार, पाकिस्तान, अर्जेन्टिना, ट्यूनिशिया, यूक्रेन जस्ता राष्ट्र पनि सोहि अवस्थामा आएका छन् ।

पाकिस्तानमा विदेशी मुद्राको कमी

पाकिस्तानमा पनि श्रीलंका जस्तै विदेशी मुद्राकाे अभाव हुँदैछ । पाकिस्तानको विदेशी मुद्रा भण्डार ९.८ अर्ब डलरमा झरेको छ ।

यस साता अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग पाकिस्तानले एक सम्झौता गरेको छ । आईएमएफले पाकिस्तानलाई ऋण दिन पुनः तयार भएको छ तर विश्व बजारमा इन्धनकाे मूल्य बढ्दा पाकिस्तानको विदेशी मुद्रा भण्डारमा भारी दबाब परेको छ । जसकारण संकटको मुखमा पाकिस्तान धकेलिदै छ ।

हाल पाकिस्तानसँग रहेको विदेशी मुद्रा पाँच साता आयात गर्न पनि पर्याप्त छैन । पाकिस्तानी रुपैयाँ कमजोर हुँदा रेकर्ड तल्लो स्तरमा झरेको छ । एक डलरको तुलनामा पाकिस्तान रुपैयाँ करिब २१० मा झरेको छ । पाकिस्तानी सरकारले नागरिकहरुलाई खर्च कटौती गर्न सल्लाह दिएको छ ।

पाकिस्तानमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर २६३ रुपैयाँ र डिजेलको प्रतिलिटर २७६ रुपैयाँ कायम रहेको छ । पाकिस्तानका कैयौं राज्यहरुमा पेट्रोल र डिजेलको अभाव भइरहँदा पेट्रोल पम्पहरु बन्द भएका छन् । इन्धन महंगो भएसँगै खाद्य पदार्थ, तरकारी, फलफूल, औषधी र अन्य आवश्यक सामाग्रीहरुको मूल्यमा पनि वृद्धि भएको छ । नंबोको एक रिपोर्ट अनुसार अहिले पाकिस्तानमा एक लिटर दूधको मूल्य १२९ रुपैयाँ रहेको छ । यसैगरी, पाउरोटीको एक प्याकेट ९० रुपैयाँसम्ममा पाइन्छ । एक किलो चामलको मूल्य १६७ रुपैयाँ छ भने गोलभेडा ९८, आलु ५६, प्याज ५६ र स्याउ प्रतिकिलो १९४ रुपैयाँ पर्दछ । यस्तै एक दर्जन केराकालागि पाकिस्तानी उपभोक्ताले १११ रुपैयाँ तिर्नुपर्दछ ।

विदेशी ऋण चुक्ता गर्न म्यानमारमा ढिलाई

म्यानमारमा पनि आर्थिक संकटको खतरा देखिएको छ । यहाँ विदेशी मुद्रा भण्डार नियन्त्रण गर्नकालागि म्यानमारको केन्द्रिय बैंकले स्थानिय कम्पनीहरु र बैंकहरुलाई निर्देशन जारी गरेको छ । यस निर्देशनमा विदेशी ऋण भुक्तानीलाई स्थगित गर्न र ढिलो भुक्तानी गर्न भनेको छ । केन्द्रिय बैंकले जुलाई १३ मा यो निर्देशन दिएको थियो ।

केन्द्रिय बैंकले विदेशी विनमय ऐन र विदेशी विनिमय व्यवस्थापन नियमवलीका अनुसार, साँवा र व्याजको रकमसहित विदेशी ऋण भुक्तानी स्थगन गर्नुपर्ने बताएको छ । यसकासाथै लाइसेन्स प्राप्त बैंकहरुले आफ्ना ग्राहकहरुसँग भुक्तानी पुनः व्यवस्थित गर्नुपर्ने पनि केन्द्रिय बैंकले जारी गरेकाे विज्ञप्तीमा भनिएको छ ।

डलरको तुलनामा म्यानमारको मुद्रा क्याटको गिरावटले देशमा पहिलेभन्दा संकट थप गम्भिर भएको छ । तेल र खाद्य सामाग्रीको मूल्यमा तिव्र उछाल आएको छ । गत वर्ष सेनाले म्यानमारमा सत्ता कब्जा गरेको थियो । योसँगै यस राष्ट्रमा अन्य किसिमका संकट बढेको छ ।

म्यानमारकाे केन्द्रिय बैंकले एक दिनभित्र स्थानिय बैंकहरुमा विदेशी मुद्रा जम्मा गर्न र सटहीलाई लिएर कैयौं निर्देशन जारी गरेको छ । मन्त्रालयहरु र स्थानीय सरकारलाई पनि स्वदेशी काराेबारकालागि विदेशी मुद्रा प्रयोग नगर्न निर्देशन दिएको छ ।

म्यानमारको मुद्रा क्याटकालागि आधिकारिक विनिमय दर, एक हजार ८५० क्याट प्रति डलर तोकिएको छ तर यो अनौपचारिक कालो बजारभन्दा धेरै तल रहेको छ ।

अन्य कुन कुन राष्ट्रको आर्थिक अवस्था डामाडोल ?

अर्जेन्टिनाको मुद्रा पेसो अहिले करिब ५० प्रतिशतको छुटकासाथ कालाे बजारमा व्यापार गरिरहेको छ । देशको विदेशी मुद्रा सञ्चिति अत्यन्त न्यून भएको छ । सरकारसँग २०२४सम्म काम गर्नकालागि पर्याप्त विदेशी मुद्रा छैन । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्सनरले ऋण लिनकालागि पुनः अन्तरराष्ट्रिय मुद्रा कोषसँग सम्पर्क गर्न सक्छिन् ।

अर्जेन्टिनाले सन् २००१मा आफ्ना ऋणदाताहरुलाई ऋण दिन अस्विकार गरेको थियो । सो समयमा अर्जेन्टिनामाथि धेरै ऋण थियो । अर्जेन्टिनाको अवस्था पनि श्रीलंकाको जस्तै रहेको थियो । सो राष्ट्रका नागरिकहरु बेरोजगारीका कारण सडकमा तिव्र आन्दोलन गरिरहेका थिए ।

युक्रेन पनि आर्थिंक संकटमा

रुससँग युद्ध गरिरहेको युक्रेनको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्था रहेको छ । यस्तो अवस्थामा युक्रेनले आफ्नो २० अर्ब डलर भन्दा धेरै ऋणको पुर्नसंरचना गर्नुपर्ने माेर्गेन स्टेनली र अमुंडी जस्ता ठुला लगानीकर्ताहरुले चेतावनी दिएका छन् ।

युक्रेनले सेप्टेम्बरमा १.२ बिलियन डलरको बण्ड भुक्तानी गर्न बाँकी छ । युक्रेनको सरकारद्वारा संचालित ठुलो राष्ट्रिय आयल र ग्यास कम्पनी नाफ्टोगाजीले यस साता दुई वर्षकालागि ऋण फ्रिज गर्न आह्वान गरेको छ । सरकारले यो पालना गर्नेमा लगानीकर्ताहरुले शंका गरेका छन् ।

ट्यूनिसियासँग छैन पैसा

ट्यूनिसियामा बजेट घाटा करिब १० प्रतिशत छ । यहाँ पनि विदेशी मुद्रा सकिँदैछ । विदेशी ऋण तिर्नकालागि ट्यूनिसियासँग रकम छैन । मोर्गेन स्टेनलीको संभावित डिफल्टरको सूचीमा ट्यूनिसिया शिर्ष तीनमा पर्दछ।

घानामा मुद्रास्फिती ३० प्रतिशत नजिक

कैयन् देशहरुदेखि ऋण लिने क्रममा घानाकाे जीडिपीकाे अनुपातमा ऋण ८५ प्रतिशतसम्मले बढेको छ । घानाको मुद्रा घानियन सेडिले यस वर्ष आफ्नो मूल्यको झण्डै एक चौथाई हिस्सा गुमाएको छ । यो राष्ट्र पहिलेदेखी राजश्वको आधाभन्दा बढि ऋणको ब्याज भुक्तानी खर्च गरिरहेको छ । यस राष्ट्रमा मुद्रास्फिती ३० प्रतिशत नजिक पुगेको छ ।

यसबाहेक इजिप्ट, केन्या , इथियोपिया, एल साल्भाडोर, बेलारुस, इक्वेडर, नाइजेरिया जस्ता राष्ट्र पनि कंगाल हुने अवस्थामा पुगेका छन् ।

स्रोत: एजेन्सी

Share.

Comments are closed.