हिमाल–पहाडका ३२ जिल्लाको जनसङ्ख्या वृद्धिदर घट्दा माथिल्लो कर्णालीका जिल्लाको भने जनसङ्ख्या वृद्धिदर उच्च छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार यहाँको हिमाली जिल्ला मुगुको जनसङ्ख्या वृद्धिदर झण्डै दुई प्रतिशत छ । विसं २०६८ मा ५५ हजार २८६ भएको जनसङ्ख्या २०७८ मा ६६ हजार ६८५ पुगेको छ । यो दुर्गम जिल्लामा १० वर्षको अन्तरमा ११ हजार ३९९ मानिस थपिएर जनसङ्ख्या वृद्धिदर १.८ प्रतिशतमा उक्लिएको छ ।  

मुगुसँगै जोडिएको अर्को विकट जिल्ला हुम्लामा पनि जनसङ्ख्या वृद्धिदर राष्ट्रिय औसतसँग मिल्दो छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या ५० हजार ८५८ रहेकामा विसं २०७८ मा ५५ हजार ४९६ पुगेको छ । अर्को विकट जिल्ला डोल्पामा पनि १० वर्षको अन्तरालमा छ हजार २५९ मानिस थपिएका छन् । यहाँको जनसङ्ख्या वृद्धिदर १.५ प्रतिशत रहेको छ । कर्णालीका जुम्ला, कालीकोट, जाजरकोट, रुकुम पश्चिममा पनि जनसङ्ख्या वृद्धिदर उच्च छ । नेपालको जनसङ्ख्याको प्रवृत्ति हेर्दा प्रायः दुर्गम, सडक सुविधा नभएका जिल्लाको जनसङ्ख्या ऋणात्मक (घट्दो क्रम) देखिन्छ । कर्णालीका अति विकट हिमाली जिल्ला अपवाद बनेका छन् । 

हुम्लाका बासिन्दासमेत रहेका प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकाया वैदेशिक रोजगारीमा कम जानु, परिवार नियोजनका साधनको सहज पहुँचको अभाव हुनुजस्ता कारण हिमाली जिल्लामा जनसङ्ख्या वृद्धिदर उच्च हुन पुगेको बताउँछन् । “यहाँका अधिकांश युवा भारत जाने गर्दछन्, भारत जानेलाई वैदेशिक रोजगारीमा गनिँदैन”, उनले भने, “अघिल्ला वर्षमा ज्ञानको कमी र पछिल्ला वर्ष कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा नगएका हुनसक्छन् । डोल्पा, मुगु र हुम्ला सबैभन्दा कम विदेश उपस्थित भएका जिल्लामा पर्दछन् ।” डा. रोकायाले हिमाली, पहाडी जिल्लाहरुको जनसङ्ख्या बढ्नु र तराई बसाइँसराइ रोकिनु प्रदेशको विकासका हिसाबले सकारात्मक भएको टिप्पणी गरे । 

राज्यले बसोबास व्यवस्थित गर्न बस्ती विकासका योजनालाई प्राथमिकतामा जोड दिनुपर्ने बताउँदै उनले भने, “हिमाली जिल्लामा विकासका आधारभूत संरचना जस्तै सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चारको विकासमा केन्द्रित गर्नुपर्छ ।” डा. रोकायाका अनुसार कर्णाली प्रदेश योजना आयोगले पञ्चवर्षीय योजनाका रूपमा हिल्सा सिमकोट चंखेली सिञ्जा, डोल्पा, हुँदै मुस्ताङ जोड्ने हिमाली पर्यापर्यटकीय सडकको परिकल्पना गरेको थियो । उक्त सडकको हाल विभिन्न खण्डमा काम भइरहेको छ । यसले उच्च हिमाली क्षेत्रमा सडकको पहुँच विकास गर्ने, बसाइँसराइ रोकिने विश्वास छ । 

जनसङ्ख्या वृद्धिदर धनात्मक भएका ४५ जिल्लामा साविक कर्णालीका पाँचवटै जिल्ला पर्दछन् । ती जिल्लाको जनसङ्ख्या वृद्धिदर अन्य पहाडी र हिमाली जिल्लाका जस्तो ऋणात्मक छैन । बरु तुलनात्मकरूपले सुगम मानिएका दैलेख र सल्यानमा जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । यी दुई जिल्लाले १० वर्षको अवधिमा जनसङ्ख्याको ठूलो हिस्सा गुमाएका छन् । विसं २०६८ मा सल्यानको जनसङ्ख्या दुई लाख ४२ हजार ४४४ जनसङ्ख्या रहेकामा विसं २०७८ मा दुई लाख ३८ हजार ६६८ मा झरेको छ । दैलेखको जनसङ्ख्या २०६८ मा दुई लाख ६१ हजार ७७० जनसङ्ख्या रहेको २०७८ मा दुई लाख ५३ हजार ३१९ मा झरेको छ। 

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत जनसङ्ख्या शिक्षाका उपप्राध्यापक कुशल बोहरा कम दूरीमा बढी बसाइँसराइ हुने गरेको बताउँछन् । “अन्य जिल्लाभन्दा सल्यान र दैलेखको बसाइँसराइ बढी भएको छ, दैलेखबाट सुर्खेत नजिक हुनु र सल्यानबाट दाङ नजिक हुँदा ती जिल्लामा बसाइँसराइ बढी भएको हुनसक्छ”, उनी भन्छन्, “दैलेख र सल्यानको जनसङ्ख्या वृद्धिदर घट्दो क्रममा हुनुमा बसाइँसराइ मुख्य कारण मान्न सकिन्छ ।” 

प्रदेश राजधानी रहेको कर्णालीको मुख्य आकर्षण रहेको सुर्खेतको जनसङ्ख्या वृद्धिदर १.६ प्रतिशत पुगेको छ । विसं २०६८ को गणनामा तीन लाख ५० हजार ८०४ भएकामा २०७८ मा चार लाख १७ हजार ७७६ पुगेको छ । यस अवधिमा सुर्खेतमा झण्डै ६७ हजार जनसङ्ख्या थपिएको छ । 

कर्णालीमा ५.८ प्रतिशत जनसङ्ख्या

सात प्रदेशमध्ये सबैभन्दा कम जनसङ्ख्या छ, कर्णालीमा । विसं २०७८ मा गरिएको १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार यहाँको कूल जनसङ्ख्या १६ लाख ९४ हजार ८८९ छ । तीमध्ये महिला आठ लाख ६६ हजार ५८२ तथा पुरुष आठ लाख २८ हजार ३०७ जना छन् । यो कूल जनसङ्ख्याको ५.८ प्रतिशत हो । यहाँका १० जिल्लामध्ये कम जनसङ्ख्या भएका हुम्ला र डोल्पा हो । डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी कम जनसङ्ख्या भएका नगरपालिकामा पर्दछन् । यहाँका डोल्पा, हुम्ला र मुगु जिल्लाबाट विदेश जाने नागरिकको सङ्ख्या पनि निकै कम छ । 

कर्णाली प्रदेशको जनघनत्व पनि निकै कम छ । सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा प्रतिवर्गकिमी क्षेत्रमा ६३६ बसोबास गर्दा कर्णालीमा भने सोही क्षेत्रफलमा ६१ बसोबास गर्छन् । प्रतिवर्गकिमी क्षेत्रमा बसोबास गर्ने मानिसको सङ्ख्या नै जनघनत्व हो । कर्णालीमै कम जनघनत्व भएका जिल्लामा डोल्पा र हुम्ला पर्दछन् । त्यहाँ प्रतिवर्गकिमी १० भन्दा कम जनघनत्व छ ।

Share.

Comments are closed.