अछामका पृथ्वीबहादुर शाहले नेपाल भित्र्याएको करिब ४० करोड रुपैयाँमध्ये ९ करोड रुपैयाँ अवैधानिक रकम भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयु) ले तयार पारेको विवरणपत्र अनुसार, उनले नेपाल भित्र्याएकोमध्ये ९ करोड रुपैयाँ ठगी, अपराध, राजस्व चुहावट र आपराधिक लाभबाट आर्जन गरी पठाएको देखिएको छ ।

विवरणपत्रमा पृथ्वीबहादुर शाह, उनका भाइ र अरु केही व्यक्तिका नाममा आएको र भुक्तानी भएको रकम आपराधिक क्रियाकलापबाट आर्जन भएको विवरणमा उल्लेख छ ।

१९ चैत २०७७ मा एफआईयुले तयार पारेको प्रतिवेदनमा पृथ्वीबहादुरले त्यतिबेला करिब ३५ करोड रुपैयाँ नेपाल भित्र्याइसकेको उल्लेख छ । केही रकम उनी र सेरोफेरोका व्यक्तिले भुक्तानी लिए भने केही राष्ट्र बैंकको पत्रबाट रोक्का छ ।

३५ करोड रुपैया नेपाल ल्याएकाले त्यसपछि ल्याइएको अन्य रकम जोड्दा ४० करोड हुने राष्ट्र बैंकले जनाएको छ । विवरणमा नेपाल भित्रिएको ३५ मध्ये करिव ९ करोड रुपैयाँ आपराधिक क्रियाकलापबाट आर्जन भएको भन्ने उल्लेख छ ।

इकाइले तयार पारेको ५ पेजको प्रतिवेदन त्यतिबेला राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको थियो । त्यही पत्रका आधारमा पृथ्वीबहादुर लगायत उनका दर्जनभन्दा बढी कम्पनीको खाता अहिले रोक्का छ ।

Share.

Comments are closed.