प्रायः अधिकांश घरमा एकदुईवटा बाख्रा पाल्ने चलन छ । घरमा आइपर्ने सानातिना आर्थिक समस्या टार्न पनि बाख्रा पाल्ने चलन छ । विशेषगरी निम्न आर्थिक अवस्था भएकाले एकदुईवटा बाख्रा पालेर आफ्नो घर खर्च टार्न काम गर्दै आएका कैलालीको पूर्वी क्षेत्रका स्थानीयहरु व्यावसायिक बाख्रापालनमा जोडिन थालेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–४ की रेखा शाहीले व्यावसायिक बाख्रापालन गर्दै आएकि छिन् । उनले पाँच वर्षदेखि बाख्रापालन गर्दै आएको भए पनि दुई वर्षदेखि फार्म नै दर्ता गरेर व्यावसायिक रुपमा लागेको हो । घरको काममा दैनिकी बिताउँदै आएकी शाहीले यतिबेला पछाडि फर्केर हेर्नु परेको छैन ।

परिवारको खर्च धान्न, छोराछोरीको पढाइ खर्च अरूसँग माग्न नपरेको रेखा बताउछिन् । “श्रीमान वैदेशिक रोजगारीमा छन् । मैले परिवारको रेखदेख गर्ने र बाख्रा फार्मलाई समय दिँदै आएकी छु,” रेखाले भनिन्, “काम नगरी पनि हुँदैन । एकदुई बाख्रा घरमा त्यसै पनि पाल्नुपर्ने हाम्रो चलन जस्तै छ । त्यसलाई व्यवस्थापन गरेर व्यावसायिक रुपमा नै गर्नुपर्छ भन्ने आँटले आज व्यवसायमा सफल हुँदै गएकी छु ।”

जानकी गाउँपालिका–८ की धनसरीकुमारी शाहले राहत कोटामा अध्ययन गराउँदै आएकि थिइन् । अहिले उनले शिक्षकको पेसा छोडेर व्यावसायिक बाख्रापालन गर्न लागेकि छिन् । अरूको काम गर्नुभन्दा आफ्नो काममा निकै सहज हुने र पारिवारिक रेखदेख पनि गर्नुपर्ने हुँदा जागिर छोडेर बाख्रापालनमा लागेको धनसरी बताउछिन् । उनले श्रीमान सरकारी जागिरे भएको भन्दै व्यवसायबाट राम्रो आम्दानीको सम्भावना देखेपछि आफू कृषिमा लागेको बताउछिन् । “मसँग अहिले २५ वटा बाख्रा छन् । यसलाई अझै बढाउँदै लगेकी छु । मेरो कमाईले घरको खर्च धानेको छ । श्रीमानको कमाई बचत गर्ने गरेका छौँ”, धनसरीले भनिन्, “पाँचवटा बाट सुरु गरेकी थिएँ । त्यसैबाट बढाएर यहाँसम्म पु¥याए । बाख्राको प्रजनन्मा सुधार भएपछि बढाउँदै लैजाने योजना बनाएकी छु ।”

टीकापुर नगरपालिका–३ का देवप्रसाद देवकोटाले १६ वर्ष सशस्त्र प्रहरीमा जागिर गरे । स्वेच्छिक अवकाश लिएर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका देवकोटाले अहिले राम्रो आम्दानी गर्दै आएका छन् । जागिरभन्दा व्यवसायमा बढी सन्तुष्ट भएको बताउँदै देवकोटाले परिवारलाई नै बाख्रापालनमै जोडेको बताए । उनले अढाई वर्षको अवधिमा टीकापुर नगरपालिकालाई ३२, जानकी गाउँपालिकालाई २५ र टीकापुर अस्पताललाई १० वटा बाख्रा उपलब्ध गराएका छन् भने बोका र खसीबाट थप आम्दानी हुँदै आएको देवकोटा बताउछन् ।

“अहिलेसम्म नाफा भएको छैन । व्यवसायमा भएको लागत उठाउने काम भयो । अब नाफा खाने बेला आएको छ,” देवकोटाले भने, “अहिले पनि मसँग ५४ बाख्रा छन् । स्थानीय मात्रै नभई उन्नत जातका बाख्राहरु भएकै कारण स्थानीय तहले किसानलाई वितरण गर्नका लागि मसँग बाख्रा किनेर लिएको हो ।”

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानहरूलाई प्रजनन सुधारका लागि भन्दै बोयर बोका वितरण गरेपछि झन् खुसी भएका छन् । चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कार्यान्वयन इकाइले व्यावसायिक बाख्रापालनमा लागेका बीस जना किसानहरूलाई बोयर जातको बोका वितरण गरेको हो । चालु आर्थिक वर्षको १० लाख बजेटबाट बीसवटा बोयर जातको बोका खरिद गरेर शत्प्रतिशत अनुदानमा किसानलाई बोका हस्तान्तरण गरिएको कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले जानकारी दिएका छन् । उनले किसानको उत्पादनसँग जोडेर आयोजनाले काम गर्दै आएको बताउँदै उन्नत जातको बोकाबाट किसानहरूले बाख्राको प्रजनन सुधार गरेर उत्पादनलाई बढाउन सक्ने उद्देश्य साथ बोका वितरण गरिएको बताए ।

“किसानलाई प्रत्यक्ष लाभ हुने गरी आयोजनाले किसानसँग जोडिएर काम गर्दै आएको छ । पशु र कृषिलाई साथमा लिएर अनुदानमार्फत किसानको उत्पादनलाई बढाउनका लागि समन्वय गर्दै आएको छ”, कार्यान्वयन इकाइका प्रमुख जोशीले भने, “त्यो समन्वयलाई किसानहरूले उत्पादनसँग जोड दिन सक्नुपर्छ । त्यस्तो भएको खण्डमा मात्रै आयोजनाले किसानहरुका लागि गरेको लगानी उपयोगी भएको मान्न सक्ने छ ।”रासस

Share.

Comments are closed.