सरकारले शनिबार एकैदिन साढे २५ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। आर्थिक वर्षको अन्तिममा सरकारको भुक्तानी बढ्दा एकैदिन धेरै बजेट खर्च भएको हो। आजदेखि नयाँ आर्थिक वर्ष नलागेसम्म अति जरुरी बाहेकका भुक्तानी रोकिएको छ। यसले गर्दा पनि शनिबार नै धेरै भुक्तानी भएको हो।

महालेखा नियन्त्रक कार्यलयका अनुसार शनिबार एकैदिन २५ अर्ब ५५ करोड रुपैयाँ बजेट खर्च भएको छ। यसमा पूँजीगत खर्च मात्रै १४ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने चालु खर्च १० अर्ब ५८ करोड र वित्तीय खर्च २४ करोड ७१ लाख रुपैयाँ बजेट खर्च भएको छ।

यस वर्ष ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएकोमा अर्धवार्षिक समिक्षामा त्यसलाई घटाएर ३ खर्ब ४० अर्बमा झारेको थियो। शनिबारसम्ममा सरकारले १ खर्ब ८९ करोड रुपैयाँ पूँजीगत खर्च गरेको छ।

आर्थिक वर्ष सकिन लाग्दा सरकारको भुक्तानी भने बढेको छ जसले गर्दा पछिल्लो समय खर्चको रफ्तार बढेको महालेखा नियन्त्रक कार्यलयको तथ्याँकले देखाउँछ। तथ्याँक अनुसार शनिबार सम्म कुल १२ खर्ब ३७ अर्ब ७० करोड रुपैयाँ बजेट खर्च भएको छ। अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड हुने गरी संशोधन संशोधन गरिएको थियो। यो रकम कुल विनियोजनको करिब ९४.७० प्रतिशत हो। सरकारले प्रतिस्थापन विधेयक मार्फत १६ अर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

यस्तै चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ, पूँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ र वित्तीय व्यवस्था तर्फ १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको छ ।

Share.

Comments are closed.