सहरबाट गाउँ पसेर कृषि-उद्यम गर्नेप्रति समाजको दृष्टिकोण सकारात्मक हुँदैन तर लगनशील भएर काम गर्ने हो भने पैसा कमाउन सहर पस्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका छन् मोरङको रतुवामाई–५, परेवाखोपीका लीला श्रेष्ठ ।

श्रेष्ठले २०७० देखि २०७५ सम्म उर्लाबारीको स्कुलडाँडामा होटल चलाए । होटल गज्जब चलेको थियो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारीको स्कुलडाँडामा पाँच वर्ष होटल चलाउँदा श्रेष्ठको आम्दानी खातामा मात्र देखियो, हातमा पैसा छैन । त्यति हुँदा पनि श्रेष्ठ दम्पतीको होटल चलाउने धित मरेको थिएन । चलिरहेको होटल बिक्री गरेर उनी गाउँ फर्किए र घरमै गाईपालन सुरु गरे । २०७५ साल मङ्सिरमा पाँचवटा गाईबाट व्यवसाय सुरु गरेका श्रेष्ठ अहिले नगरको नमुना गाई फार्म सञ्चालक भएका छन् । श्रेष्ठको खेमु गाई फार्ममा यतिबेला १५ वटा गाई छन् । जसमध्ये १२ वटा लैना छन् ।

दैनिक एक सय लिटर दूध बिक्री गरिरहेका श्रेष्ठ भन्छन्, “सहरबाट गाउँ आएर गाईपालन सुरु गर्दा छिमेकी र आफन्तले नेवार माइलो सकिने भयो भनेर खिसी गरे ।” कसैले सानोतिनो व्यापार गर्न सुझाए तर श्रेष्ठ दम्पती जे सोचेर गाउँ फर्किएका थिए, त्यही काममा दत्तचित्त भएर लागे । अहिले उनले सबै खर्च खटाएर महिनाको ६० हजार रुपियाँ बचत गर्छन् ।

चार लाख रुपियाँमा सुरु गरेको फार्ममा ४० लाख लगानी पुगिसक्यो । उनले बैंकबाट सहुलियतमा ऋण लिएका छन् । सरकारले एक पटक घाँस खेतीका लागि ४० हजार र अर्को पटक गाईपालनका लागि दुई लाख ४० हजार अनुदान दियो । गाईपालनका लागि आवश्यक उपकरणमा नगरपालिका र वडा कार्यालयले पनि सहयोग गरिरहेको छ ।

श्रेष्ठले आफ्नो तीन बिघा खेतमा लगाएको परालले नपुगेर थप डेढ बिघा जग्गा ठेक्कामा लिएर घाँस लगाएका छन् । एक जना सहयोगी, श्रीमती र बुबाआमाको भरपूर साथ र सहयोग पाइरहेका श्रेष्ठ दूधमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउँछन् ।

Share.

Comments are closed.