सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडान जान लागेका टोलीलाई शुक्रबार बिदाइ गरेका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र सङ्गठनको नाम उच्च रहने गरी जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास व्यक्त गरे । महानिरीक्षक केसीले टोलीलाई संयुक्त राष्ट्रसङ्घीय मिसनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाति, भाषा, धर्म र लिङ्ग नभनी विश्वशान्ति स्थापनाको कार्यमा आआफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिए । 

उनीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतले शुभकामनासहित हार्दिक बिदाइ गरेका हुन् । कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जुनियर अधिकृत र जवान गरी १८० सशस्त्र प्रहरी कर्मचारी वैशाख १२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

Share.

Comments are closed.