चियाले व्यावसायिक उत्पादन दिन थालेपछि आर्थिक रूपमा उक्सिएका पूर्वका चिया किसानलाई श्रमिक अभाव हुँदा समस्या भएको छ । इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायतका जिल्लामा मुख्य नगदेबालीजस्तै भएको चियालाई हातले टिपाइ गर्न नसक्दा यसको गुणस्तर खस्कने हुँदा समस्या भएको किसान बताउँछन् । दुई–चार रोपनी जमिनमा लगाइएको चिया हातैले टिप्न सम्भव भए पनि १० रोपनीभन्दा बढी जमिनमा लगाइएको चिया टिप्न भने मेसिनकै प्रयोग गर्नुपर्ने बाध्यता आएको किसानको भनाइ छ ।

“चियामा काम गर्ने श्रमिक पाइँदैन, घरपरिवारले मात्र टिपेर पनि सकिँदैन । यसो भएपछि मेसिनको प्रयोग नगरी हुँदैन,” इलाम समलबुङका किसान कृष्ण घिमिरेले भने, “हातले टिपेको चिया र मेसिनले टिपेको चियाको मूल्यमा फरक हुने गरेको छ ।” हरेक साताजसो टिपाइ हुने चियालाई हातकै प्रयोगले टिप्दा दुई पात एक सुइरो सजिलै आउँछ तर मेसिनको प्रयोग गर्दा भने लामोलामो अर्थात् चार-पाँच पातसम्म पनि आउने गरेको छ । यसरी लामो चिया आएपछि गुणस्तर कायम नहुने भन्दै उद्योगहरूले पनि कम मूल्य दिने गरेका छन् ।

सूर्योदय नगरपालिकास्थित कृष्णगोपाल चिया उद्योगका सञ्चालक गोपाल कट्टेल पनि हातले टिपेको हरियोपत्ती र मेसिनले टिपेको हरियोपत्तीको गुणस्तरमा धेरै फरक पर्ने बताउँछन् । “यस पटक हातले टिपेको दुई पात एक सुइरो हरियोपत्तीको मूल्य मेरो उद्योगबाट प्रतिकिलो ५७ रुपियाँ दिइएको छ तर मेसिनले टिपेको पत्ती मैले किसानबाट लिन सकिनँ,” कट्टेलले भने, “मुख्य कारण गुणस्तर नै कम हुनेहुँदा उद्योगलाई पनि सञ्चालन गर्न मुस्किल पर्छ, तयारी चिया बिक्दैन ।”

सूर्याेदय टी प्रोड्युसर्स सचिवसमेत रहेका कट्टेलले यस पटक गुणस्तर नभएपछि एसोसिएसनमा आबद्ध ६२ उद्योग कुनैले पनि एकै दरको मूल्य नतोकेको बताए । चियाको मुना र गुणस्तर हेरेर कुनै उद्योगले प्रतिकिलो १२० रुपियाँसम्म पनि दिएका छन् । हाम्रो उद्योगमा आउने चियामा ६० प्रतिशत मुना रहेकामा प्रतिकिलो ५५ रुपियाँ र दुई रुपियाँ ढुवानी खर्च भनेर ५७ रुपियाँ दिइएको छ ।

यता सूर्योदय नगरपालिकाले तीन वर्षअघिदेखि हरियो चियापत्तीको न्यूनतम मूल्य ४० रुपियाँ निर्धारण गरेर कार्यान्वयनमा ल्याएको थियो । गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएर कार्यान्वयनमा आएको थियो ।

तर, कार्यविधिअनुसार कसैले पनि काम नगर्दा अहिले हरियोपत्तीको मूल्य प्रतिकिलो १५ देखि ३० रुपियाँमा झरेको छ । गएको सातायता उद्योगले किसानलाई राम्रो पत्ती भए प्रतिकिलो ३० रुपियाँ र अलि कमसल भए प्रतिकिलो १५ रुपियाँ दिन थालेका छन् । नगरपालिकाले कार्यान्वयनमा ल्याएको कार्यविधिमा भने ४० प्रतिशत मुना हुनुपर्ने र त्यसको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँको व्यवस्था छ ।

४० प्रतिशत मुना नै नभएपछि र गुणस्तरहीन भएपछि पत्तीको मूल्य घटाउन बाध्य हुने अवस्था आएको सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव कट्टेल बताउँछन् । “कार्यविधिअनुसार सबैले काम गर्ने हो भने किसान र उद्योगी सबैको हितमा छ तर सबैले आँखा छल्ने मेलो गरेपछि समस्या आएको हो,” कट्टेल भन्छन् ।

Share.

Comments are closed.