श्रीकान्त बोल्ला एक भारतीय उद्योगपति र बोलन्ट इंडस्ट्रीजका संस्थापक हुन्। उनी कुनै बेला म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा व्यवस्थापन विज्ञानमा पहिलो अन्तर्राष्ट्रिय दृष्टिविहीन विद्यार्थी पनि थिए ।

बोल्ला सन् १९९२ मा आन्ध्र प्रदेशको एक सहर मछलीपट्टनमको सीतारामपुरममा जन्मेका थिए। उनी जन्मजात नै दृष्टिविहीन थिए । उनको परिवार मुख्यतया खेतीपातीमा निर्भर थियो। बोल्लालाई सानैदेखि पढ्न निकै रहर थियो । त्यसैले, उनी दैनिक ५ किलोमिटर हिँडेर स्कूल जान्थे ।

उनले १० कक्षा पढेपछि +२ पढ्नको लागि एक कलेजमा आवेदन दिए । तर, कलेजले उनी अन्धो भएकोले भर्ना लिन अस्वीकार गर्यो । बोल्लाले कलेजविरुद्ध मुद्दा दायर गरे र छ महिनाको पर्खाइ पछि, उनलाई आफ्नै जोखिममा विज्ञान पढ्नको लागि अनुमति दिइयो। बोल्ला +२को बोर्ड परीक्षा मा ९८% अङ्क ल्याएर सर्वोत्कृष्ट बने।

पुन: बोल्लालाई दृष्टिविहीन भएकाले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका लागि कोचिङ इन्स्टिच्युटहरूमा भर्ना गर्न अस्वीकार गरियो, जहाँ उनी इन्जिनियरिङ पढ्न चाहन्थे।त्यसपछि, उनले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना लिए, जहाँ उनी पहिलो अन्तर्राष्ट्रिय दृष्टिविहीन विद्यार्थी थिए। उनलाई अमेरिकामा कर्पोरेट अवसरहरू दिइयो, तर उनी भारतमा केही नवीन विचार खोजिरहेका थिए।

उनी सन् २००५ देखि युवा नेता थिए र लीड इन्डिया २०२०: द सेकेन्ड नेशनल युथ मूभमेन्टको सदस्य बनेका थिए। भारतका पूर्व राष्ट्रपति डा ए.पी.जे. अब्दुल कलामको नेतृत्वमा सुरु भएको यस अभियानले भारतलाई गरिबी, निरक्षरता र बेरोजगारी उन्मूलन गरेर २०२० सम्ममा विकसित राष्ट्र बन्ने लक्ष्यमा पुग्न मद्दत गरेको थियो।

उनले सन् २०१२ मा रतन टाटाको सहयोगले बोलन्ट नामक उद्योग खोले र त्यसमा हजारौँ भिन्न क्षमता भएका व्यक्तिलाई रोजगार दिए । सन् २०१८ मा यस कम्पनीको टर्नओभर १५० करोड थियो ।

यसरी, एक जन्मजात दृष्टिविहीन व्यक्तिले यति धेरै सिर्जनशील कार्यहरु गरेर भारतमा ठूलो आर्थिक क्रान्ति नै ल्याएका छन् । उनी जस्ता भिन्न क्षमता भएका व्यक्तिले यस्तो जबर्जस्त कार्य गर्न सक्छन् भने हामीले पनि गर्न सक्छौँ भन्ने एउटा उत्प्रेरणा उनको कथाले दिएको छ ।

Share.

Leave A Reply