धेरै बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा माथि पुगेको छ । सीमाभन्दा माथि पुगेको सीडी रेसियोलाई आगामी असार मसान्तसम्म सीमाभित्र ल्याउन राष्ट्र बैंकले अहिलेदेखि नै दबाव दिएको छ ।

राष्ट्र बैंकले सीडी रेसियोको सीमा कटाउने बैंकहरुलाई बोलाएर ०७९ असार मसान्तमा सीमाभित्र ल्याउने कार्ययोजना पेश गर्न निर्देशन दिन थालेका छन् ।स्रोतका अनुसार आगामी असार मसान्तसम्ममा तोकिएको सीमाभित्र सीडी रेसियो ल्याउने कार्ययोजना पेश गर्न राष्ट्र बैंकका अधिकारीहरुले पटक पटक निर्देशन दिइएको छ । राष्ट्र बैंकका अधिकारीहरु भने बैंकहरुलाई अहिलेदेखि नै सचेत गराएको बताएका छन् ।

केन्द्रीय बैंकका अनुसार अहिलेदेखि नै घच्घच्याएन भने अधिकांश बैंकले सीडी रेसियो आगामी असार मसान्तमा पनि ९० प्रतिशतभन्दा बढी नै हुने संभावित आँकलनका आधारमा ताकेता गरिएको हो । राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई हटाएर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियोको व्यवस्था लागू गरेको थियो । यो व्यवस्था कार्यान्वयन गर्नका लागि ०७९ असार मसान्तसम्मको समय सीमा दिइएको छ ।

त्यसैले अहिले सीडी रेसीयोको सीमा कटाउँदा राष्ट्र बैंकले कारबाही नगरे पनि बैंकहरुले तोकिएको समयमा सीमाभित्र ल्याउने प्रष्ट कार्ययोजनाभने राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने छ । अहिले बैंकहरुले धमाधम कार्ययोजना पेश गरिरहेका छन् ।

चैत मसान्तसम्म झन्डै डेढ दर्जन वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । अहिले सीडी रेसियोमा बैंकहरुले निक्षेपमा ऋणपत्र, विदेशी ऋण र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ०७९ असार मसान्तपछि भने ऋणपत्रलाई पुँजी वा स्रोतमध्ये कुनै एक शिर्षकमा मात्रै गणना गर्न पाइनेछ ।

राष्ट्र बैंकको अप्रिल १७ सम्मको तथ्यांकले समग्र बैंकिंग क्षेत्रको सीडी रेसियो ९०.४३ देखाउँदछ ।

Share.

Comments are closed.