वीरेन्द्रनगर नगरपालिका-१ का रामबहादुर बुढालाई धेरैले सरकारी कर्मचारीका रूपमा चिन्छन् । तर, उनी राम्राे कलाकार पनि हुन् भन्ने कमैलाई थाहा छ । यति मात्रै हाेइन सरकारी जागिर, कालाकारितासँगै उनले कृषि फार्म पनि चलाएका छन् । जहाँ चार जनालाई राेजगारी पनि दिइरहेका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णालीका अध्यक्ष बुढाले कृषि फार्मबाट लाखौँ आम्दानी समेत गरिरहेका छन् । 

बुढाले जग्गा भाडामा लिएर नर्सरी फर्म सञ्चलन गरेका हुन् । जिल्ला वन कार्यालय सुर्खेतमा स्थायी जागिरे बुढाले साँझ र बिहानको समय फार्ममा बिताउने गरेकाे बताए ।दुई वटा बैंकबाट ऋण लिएर २०७६ सालबाट रारा नर्सरी फार्म दर्ता गरी व्यवसायिक रुपमा कृषि पेसामा लागेका बुढाले दुई वर्षमा राम्रै आम्दानी गरेको सुनाए । ३२ लाखको लागतमा सुरू गरेको नर्सरी फर्मले आफूसहित चार जनाले रोजगारी पाएकाे उनकाे भनाइ छ ।  

उनले कर्मचारीकाे तलबमा मात्रै मासिक ५२ हजार खर्च हुने बताए । ‘मासिक ५२ हजार तलब दिनुपर्छ, ६२ हजार जग्गाको भाडा छ,’ उनले भने । आफूले नर्सरी चलाउँदा कुनै पनि सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे । पानी व्यवस्थापनको लागि विभिन्न निकायसँग माग गरे पनि कहीबाट सहयोग नपाएको उनको भनाइ छ । दुई सय ५० मिटर टाढाबाट पानीको व्यवस्था गरी नर्सरी बनाएको उनले सुनाए । ‘नर्सरीमा काम गर्दा आनन्द आउँछ,’ उनले भने, ‘सरकारी जागिर भने लामो समयदेखि गरी रहेकाले चट्क्क छोड्न सकिएको छैन ।’ 

सरकारी कर्मचारीदेखि कृषि फार्म र गायनलाई उनले समानान्तर रूपमा लगेका छन् । ‘स्थायी भएको पनि वर्षौ बित्यो,’ उनले भने, ‘सरकारी जागिरसहित गायन पेसा पनि अगालेको छु । समय निकालेर गीत गाउने पनि गरेको छु ।’  जिल्ला कृषि विकास कार्यालयबाट अनुदान पाउने बारे आफुलाई थाहा भए पनि कुनै अनुदान नलिएको उनको भनाइ छ । 

बुढाको नर्सरीमा विभिन्न प्रजातिका बिरुवा र फलफूलका बिरूवा छन् । उनले नर्सरीमा किभी, टिमुर, ओखर, कागती, ड्राइगन फूड, धुपी, अलैँची, गाेलभेँडा, प्याजलगायतका मौसमी तथा बेमौसमी तरकारीका बिरूवा उत्पादन गर्दै आएका छन् । 

Share.

Comments are closed.