नेपाल धितोपत्र बोर्डले सरोकारवालासँग छलफल नै नगरी एकलौटी रुपमा बढाउन लागेको पुँजी वृद्धिको विरोधमा ब्रोकर कम्पनीहरूले सोमबार ज्ञापनपत्र बुझाउने भएका छन्। सबै ब्रोकर कम्पनीहरूको तर्फबाट नेपाल स्टक ब्रोकर एशाेसिएसनले ज्ञापन पत्र बुझाउन लागेको हो।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा लैजान लागेको ओपन इन्ट्री र ओपन एक्जिटको विरोधमा ज्ञापन पत्र केन्द्रित हुने छ। एशाेसिएसनले कार्यान्वयनमा लैजान लागिएको उक्त व्यवस्था हाललाई रोक्नु पर्ने माग गरेकाे छ। उसले हालको अवस्थामा ब्रोकर कम्पनीकोलागि तोकिएको चुक्ता पुँजी र मोडल दुवै ठिक नरहेकोले त्यसलाई तत्कालको लागि कार्यान्वयनमा नलैजान भन्दै ज्ञापन पत्र मार्फत सरोकारवालाहरुको ध्यान आकर्षण गराउने छ।

एशाेसिएसनका अनुसार सबैभन्दा पहिले नेपालमा शेयर ब्रोकर व्यवसायमा ओपन इन्ट्री र ओपन एक्जिट गर्ने बेला भइसकेको छैन। किनकि नेपालको बजारको आकार र कारोबारलाई हेरेर पनि उक्त व्यवस्था गर्न नहुने एशाेसिएसनको ठहर छ। अर्कोतर्फ कमिसन ब्रोकरको लागि मात्रै १० गुणा पुँजी वृद्धि अनुचित देखिएको एशाेसिएसनको ठम्याइ छ। छोटो समयमा १० गुणा पूँजी वृद्धि गरेर भइरहेका ब्रोकर कम्पनीको व्यवसाय नै धरापमा पार्न खोजिएको एशाेसिएसनको आरोप छ।

पहिलो चरणमा नेपालमा किन उक्त व्यवस्था उचित छैन ? किन कार्यान्वयनमा लैजान हुँदैन ? कार्यान्वयनमा लगे के कस्ता समस्या आउन सक्छन् ? भन्ने मुख्य विषय ज्ञापनपत्रमा समेटिने छ। उक्त ज्ञापन पत्र धितोपत्र बोर्ड,अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयदेखि संसद्को अर्थ समितिमा बुझाइने बताइएकाे छ।

पहिलो चरणमा एशाेसिएसनले ज्ञापन पत्र बुझाउने छ। ध्यानाकर्षण गराएको विषयमा सुनवाइ नभए त्यसपछि कडा कार्यक्रम गर्ने योजनामा एशाेसिएसन छ। एशाेसिएसनले अहिले नै कारोबार हल्ट गर्ने विषय अघि बढाएकाे छैन। तर व्यवसाय नै धरापमा पर्ने स्थिति आए उक्त अवस्थामा जान सक्ने सम्भावना रहेकाे एशाेसिएसनको भनाई छ।

पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकर कम्पनीको पूँजी वृद्धि गर्ने योजनासँगै ब्रोकर व्यवसायमा ओपन इन्ट्रि र ओपन एक्जिटको अवधारणा अघि सारेको छ भने अर्को तर्फ ब्रोकर कम्पनीको वर्गीकरण विषय समेत उठाएको छ। बोर्डले कमिसन ब्रोकर,फुल फ्लेज ब्रोकर र डिलरको अवधारणा कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जसको लागि बोर्डले पुँजी समेत बढाउने निर्णय गरेको छ। बोर्डले कमिसन ब्रोकरको लागि २० करोड र फुल फ्लेज ब्रोकरको लागि ६० करोड र डिलरको लागि एक अर्ब भन्दा बढी पुँजी प्रस्ताव गरेको छ।

यस प्रकारको नियमनले ब्रोकरको संख्या घटाई सिमित पुँजीपति घरानामा ब्रोकर कम्पनी पुग्ने र नेप्से बजारलाई आफ्नो पोल्टोमा पार्ने देखिन्छ । अहिले ५० ब्रोकरले मार्केट चलाउँथे भने यस व्यवस्था पछि १५-२० ब्रोकर कम्पनी मात्र पुग्ने सम्भावाना छ । यसले त बजारलाई झन् संकुचित पार्ने र सिमित मानिसहरुले मनपरी (कार्टेल, सिंडीकेट आदि ) गरेर स्टक मार्केट चलाउने भयानक स्थिति आउन सक्ने देखियो । यसकारण, यस पुँजी बढाउने प्रावधानको विरोधमा ब्रोकर कम्पनी उत्रिन लागेका हुन्।

Share.

Comments are closed.