विगतमा माओवादीको सशस्त्र द्वन्द्वका बेला सुधीर नामले चिनिने महोत्तरीको भङ्गाहा–४ का ४० वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानमा फेरिएको छ । सशस्त्र द्वन्द्व प्रारम्भमै कमान्डरको भूमिका निर्वाह गरेका उनी अहिले आफ्नो गाउँबस्तीका समवयस्क साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण बनेका छन् ।

घर वरपर नै रहेको आठ कट्ठा जग्गाभित्र लटरम्म फलेका बोडी, परबल र लौकासहित तरकारी बालीमा दाहालको मेहनत फष्टाएको छ । बिहान ४ बजे ओछ्यान छोडेदेखि नै गाई-बाख्राको हेरचाह सकेर बारी पसेपछि आवश्यक स्याहार सुसार गर्ने, तरकारी टिप्ने र घरमै आइपुगेका तरकारी व्यापारीलाई आफ्नो उत्पादन तौलेर दिन भ्याइनभ्याइ हुने गरेको उनी बताउँछन् ।

विसं २०६५ को अन्त्यतिर माओवादी लडाकुको काम छाडेर गृहस्थीमा फर्किएका दाहालले २०६८ यता भने खेतीमै आफ्नो भविष्य देख्न थालेका छन् । माओवादी लडाकुको जीवन त्यागेर फर्कंदा राज्यबाट जम्मा रु छ लाख २० हजार पाएका उनले त्यतिखेर त्यो रकमले छ कट्ठा जग्गा, एउटा साइकल र घरमा एउटा टिभी जोडेर सानो गाईगोठ बनाएको सुनाउँछन् । “के के न गरौँला भनेर सशस्त्र द्वन्द्वमा होमिए,” दाहाल भन्छन्, “फर्केर आउने ठाउँ त गाउँ घर नै रहेछ ।” अहिले सशस्त्र द्वन्द्वमा होमिएको आफ्नो विगतप्रति दाहाललाई गुनासो छैन । “मैले नजिकबाट मृत्युलाई चिन्न सकेजस्तो लाग्छ, युद्धमा छँदा कैयौँ पटक संयोगले मात्र बाँचेको हुँ,” उनी भन्छन्, “फेरि त्यो युद्धको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना त भयो नि, अब जनताको जीवनस्तर उकास्ने बाटोमा नेता लागिदिए हुन्थ्यो ।” जनताको अवस्थामा परिवर्तन नआउँदा भने भने मन कटक्क खाने गरेको दाहालको भनाइ छ ।

खेतीमा लागेयता आफ्नो मिहिनेत खेर गएको कहिल्यै महसुस गर्न नपरेको उनी बताउँछन् । “यसपालि वैशाखे तरकारी खेतीबाटै अहिलेसम्म रु एक लाख बराबरको तरकारी बेचिएछ,” आफ्नो पुगनपुग तीन महिना (चैत, वैशाख र जेठ) को कमाईबारे बताउँदै दाहाल अगाडि भन्छन्, “यसपालि नयाँ वर्ष प्रारम्भसँगै कैयाँै पटक आएको चोटिलो वर्षासँगैको हावाहुरीले लहरे तरकारी र लहलहाउँदा रायोको बिरुवा लता¥यो, त्यसको उत्पादन लिन सकेको भए आम्दानी अझै बढ्थ्यो ।”

दैनिक घरखर्चमा लगाइएको रकमको हिसाबमा राख्न नसकेको उनको भनाइ छ । त्यस्तै प्रत्येक वर्ष दसैँ, तिहार र अन्य चाडपर्वमा गरिने खर्चको पनि हिसाब राख्ने गरिएको छैन । “किसानी पेसाको घरगृहस्थीमा सबै हिसावकिताव राख्न नसकिने रहेछ,” दाहाल भन्छन्, “तर चाडबाडको रमझम खेतीपातीले नै चलाएको छ भन्न त पाइयो नि ।”आफ्नो खेती प्राङ्गारिक भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । तरकारीमा लाग्ने किरा नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउँछन् । “यो नारायणास्त्र, यो ब्रह्मास्त्र र यो आग्नेयास्त्र” तरकारी बालीमा लाग्ने किरा नियन्त्रणका लागि आफैँले घरमा बनाएका कीटनाशक औषधि देखाउँदै उनी भन्छन्, “गाईको गहुँत सङ्कलन गरेर नीमका पात र अन्य कीटनाशक वनस्पति मिलाएर बनाइएको औषधि हो, तरकारी बालीमा लाग्ने किराको सङ्ख्या र क्षतिको प्रकृति आङ्कलन गरेर मात्रा बनाएर छरिन्छ ।”

रामायण, महाभारतलगायत पौराणिक ग्रन्थमा प्रयोग गरेपछि खेर नजाने गरी वर्णन गरिएका शस्त्रअस्त्रको महत्व थाहा पाएर किरा नियन्त्रणका लागि बनाइएका औषधिको नाउँ त्यस्तै मिलाएर राखिएको दाहालको भनाइ छ । “इ यो हेर्नुहोस् , यो आग्नेयास्त्र हो” एउटा सिसीमा राखिएको झोल औषधि देखाउँदै उनी भन्छन्, “भगवान् रामको वाण खेर जाँदैनथ्यो रे ! हो, यो त्यही ‘रामबाण’ हो, जस्को छिर्का पर्यो कि किरा खत्तम ।”

अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउनुपर्ने दाहालको सुझाव छ । “अमृत हुने वस्तु हाम्रै कारण विष बनाइएका छन्,” उनी भन्छन्, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनुपर्छ ।” साझा प्रयत्नबाट यो सम्भव हुने दाहालको विश्वास छ । बीउबिजन, मल र खेती प्रणाली पनि पुरानै रैथानेलाई नै फर्काउन पर्ने दाहालको सुझाव छ ।

उनको सङ्गतले गाउँका युवा पनि तरकारी खेतीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण गर्न सकिने दाहालले अपनाउनुभएको तरिकाले हामीलाई लोभ्याएको छ,” दाहालको मिहेनत र खेती प्रणालीलाई अनुुसरण गर्न थालेका छिमेकी छेदीलाल महतो भन्छन्, “आफ्नै वरपर पाइने विभिन्न वनस्पति र गहुँतबाट बनाइने औषधिबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।”

मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेकोमा पश्चाताप नभए पनि समृद्धिको बाटो चैं अहिलेको बाटो नै उपयुक्त रहेको दाहालको निष्कर्ष छ । “कतिले बाटो फेरेछ भन्लान्, तर मुलुक समृद्ध र जनता सुखी बन्ने/बनाउने चैं उद्यमले नै हो ।” आफ्नो अहिलेको काम ‘उद्यम’ रहेको बताउने दाहाल गाउँ छिमेक वरपर ‘रोलमोडल’ किसान बनेका छन् ।

Share.

Comments are closed.