बजार सहभागीहरूको माग अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सातामा छ दिन नै सेयर कारोबारलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बसेको नेप्से सञ्चालक समिति बैठकले सातामा ६ दिन नै कारोबार गर्ने निर्णय गरेको हो।

“हाम्रो सञ्चालक समिति बैठकले अब सातामा ६ दिन नै सेयर कारोबार गर्ने निर्णय गरेको छ” नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने। पराजुलीका अनुसार आउने असारबाट सातामा ६ दिन सेयर कारोबार हुनेछ। तर शुक्रवारको हकमा भने एक बजेसम्म मात्रै सेयर कारोबार हुने छ।

नेप्सेले शुक्रवार पनि सेयर कारोबार गर्ने या नगर्ने भन्ने विषयमा बृहत् छलफल गर्‍यो। प्रारम्भिक छलफलमा ६ दिन नै कारोबार गर्न, गराउन सबै पक्ष राजी भए। तर समयका विषयमा भने उल्झन देखियो। शुक्रवार आधा दिन बिदा दिने नियम छ। सरकारले शुक्रवार आधा दिन बिदा दिने गर्छ। सोही नियम अनुसार नेप्सेले पनि आफ्नो सेवा आधा दिन मात्रै दिने गर्छ। शुक्रवार पुरै दिन कारोबार सञ्चालन गर्दा नेप्से कर्मचारीले पनि पुरै दिन काम गर्नु पर्ने देखियो। कर्मचारीलाई दिँदै आएको आधा दिनको बिदा कटौती गर्नु पर्ने देखियो। उनीहरूको बिदा कटौती गर्नु पर्ने वा उनीहरूलाई अतिरिक्त काम गरे बापत थप पारिश्रमिक दिनु पर्ने अवस्था सिर्जना भयो। उनीहरूलाई थप पारिश्रमिक दिने विषयमा पनि सहमति जुट्यो। तर त्यसको लागि केही नियम संशोधन गर्नु पर्ने विषय अघि आए। नेप्सेको कर्मचारी सम्बन्धी नियम परिवर्तन नगरी उक्त विषय अघि बढ्ने अवस्था देखिएन। त्यसको लागि नेपाल धितोपत्र बोर्ड पठाउनु पर्ने देखियो।

तर नियम संशोधन गर्न बोर्ड पठाउँदा थप समय लाग्ने देखियो भने अर्को तर्फ बोर्डले उक्त विषयमा स्वीकृत गर्ने नगर्नेमा संशय उत्पन्न भयो। जसले गर्दा एकातिर थप समय लाग्ने अर्को तर्फ संशोधन हुने नहुने भन्ने यकिन नभएपछि बैठकले वैकल्पिक उपाय अघि सार्‍यो। जसमा नियमित कार्यालय समय सम्म मात्रै सुचारु गर्ने। त्यसो गर्दा शुक्रवार कर्मचारीले थप काम पनि गर्नु नपर्ने अर्को तर्फ शुक्रवार हुने कारोबारले निरन्तरता समेत पाउने उपायमा छलफल अघि बढाइयो। जुन छलफलमा सबैले सहमति जनाएपछि नेप्सेले शुक्रवारको हकमा ११ बजेदेखि एक बजेसम्म कारोबार खोल्ने निर्णय गरेको हो।

Share.

Comments are closed.