सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पिसिआर पद्दतिबाट १८ र एन्टिजेन पद्दतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्लो एक हप्तामा ११ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ ।

छिमेकी भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीले बताए । सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको जोखिम देखिएको हो । भातरबाट फर्किनेमा यो रोगको सङ्क्रमण देखिन थालेको बताइएको छ । 

गौरिफन्टा सीमा नाकामा खटिएका डम्मर खातीले  आफ्नो स्वास्थ्यको नमूना परीक्षण गराउने काममा भित्रिने नागरिकबाट लापरबाही हुँदा समस्या भइरहेको बताए । उनले भने,‘‘भित्रिनेहरु हेल्थ डेस्कमार्फत् आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको छ, उनीहरुलाई नतिजा आउने समयसम्म निगरानीमा राखिदिने काम कसैबाट हुन सकिरहेको छैन ।’’ मङ्गलबार सुदूरपश्चिमका विभिन्न सीमानाकाबाट ५१६जना स्वदेश भित्रिएका थिए ।

कोरोनाको समस्या देखिएयता हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट दुई लाख २१ हजार ६३५ र एन्टिजेन पद्दतिबाट तीन लाख २५ हजार १५७ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये पिसिआर तर्फ ४२ हजार १७८ र एन्टिजेन तर्फ १७ हजार ४९२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेमध्ये ५९ हजार २० जना उपचार व्यवस्थापनपछि घर गएका छन् ।

Share.

Leave A Reply