केजीएफ-२ यही १४ अप्रिलमा रिलिज हुँदैछ । त्यसैले यो चलचित्रको चर्चा सामाजिक सञ्जाललगायत सबैतिर चर्को रुपमा भइरहेको छ । फिल्ममा कन्नड सुपरस्टार यश केन्द्रीय भूमिकामा छन् भने सञ्जय दत्त, रविना टण्डन र प्रकाश राजजस्ता ठूला कलाकार पनि छन् ।

यो फिल्म मूलतः कन्नड भाषामा बनेको हो । यसको पहिलो भाग हिन्दीसँगै कन्नड, तेलुगू र तमिल भाषामा २१ डिसेम्बर २०१८ मा रिलिज भएको थियो । त्यसपछि फिल्मको भारतलगायत अन्य मुलुकमा पनि प्रशंसा भयो र त्यसबेलादेखि दर्शक यसको दोस्रो भागको प्रतीक्षामा थिए ।

केजीएफको कहानी वास्तविक होकी होइन भन्ने कौतुहलता पनि फ्यानहरुमा रहेको देखिन्छ । आउनुहोस् केजीएफको इतिहास जानौं ।

केजीएफको इतिहास

केजीएफ अर्थात् कोलार गोल्ड फिल्ड्स कर्नाटकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित छ । रोबर्टसनपेट दक्षिण कोलार जिल्लाको मुख्यालयबाट ३० किलोमिटरको दूरीमा रहेको एउटा तहसिल हो, जहाँ यो खानी अवस्थित छ ।

बैंग्लोर–चेन्नई एक्सप्रेस वेमा बैंगलोरको १०० किमी पूर्वमा केजीएफ टाउनसिप छ । समाचार वेबसाइट ‘द क्विन्ट’ले आफ्नो एक रिपोर्टमा केजीएफको गौरवशाली इतिहासको बारेमा लेखेको छ । सो रिपोर्टअनुसार सन् १८७१ मा न्युजिल्याण्डबाट भारत आएका बेलायती सैनिक माइकल फिट्जगेराल्ड लेभालीले बैंग्लोरमा आफ्नो घर बनाएका थिए । त्यतिबेला उनको अधिकांश समय पढाइमा बित्ने गर्थ्यो ।

यसैबीच उनले १८०४ मा एशियाटिक जर्नलमा प्रकाशित चार पृष्ठको लेख पढे । त्यसमा कोलारमा फेला परेको सुनको बारेमा बताइएको थियो । यो लेखका कारण कोलारप्रति उनको चासो बढ्न थाल्यो । यस विषयमा पढ्दै गर्दा लेलेवेलीले बेलायती सरकारका लेफ्टिनेन्ट जोन वारेनको लेख फेला पारे । लेवेलीबाट प्राप्त जानकारी अनुसार सन् १७९९ को श्रीरंगपट्टनमको युद्धमा टिपु सुल्तानलाई मारेर अंग्रेजहरूले कोलार र वरपरको क्षेत्र कब्जा गरेका थिए ।

केही समयपछि अंग्रेजहरूले यो भूमि मैसूर राज्यलाई दिए । तर तिनीहरूले सर्वेक्षणका लागि भन्दै कोलारको भूमि आफ्नो साथमा राखे ।

सुनको खोजी

चोल साम्राज्यमा मानिस हातले जमिन खनेर सुन निकाल्थे । त्यसपछि सुनको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा भयो । त्यो घोषणाको केही दिनपछि केही गाउँले गोरुगाडीमा चढेर वारेनमा आए । त्यसपछि त्यहाँ सुनका निशान भेटिए ।

यस बारेमा फेरि अनुसन्धान सुरु भयो । कोलारका जनता हातले सुनको उत्खनन् गर्छन् भन्ने कुरा यसबाट थाहा भयो ।

वारेनको यो प्रतिवेदनपछि सन् १८०४ देखि १८६० सम्म यस क्षेत्रमा धेरै अनुसन्धान र सर्वेक्षण भएपनि त्यसबाट अंग्रेजी सरकारले केही पाएन । यस अनुसन्धानका कारण केही लाभ मिल्नुको सट्टा धेरैले ज्यान गुमाएका छन् । त्यसपछि त्यहाँ उत्खननमा प्रतिबन्ध लगाइयो ।

यद्यपि सन् १८७१ मा वारेनको रिपोर्ट पढेपछि लेवेलीको मनमा कोलारप्रति रुचि जाग्यो । लेवेलीले बैंग्लोरदेखि कोलारसम्मको १०० किलोमिटरको दूरी गोरुगाडामा नै पार गरे । त्यहाँ करिब दुई वर्षसम्म अनुसन्धान गरेपछि सन् १८७३ मा लेवेलीले मैसुरका महाराजासँग उक्त ठाउँमा उत्खनन् गर्न अनुमति मागेका थिए ।

लेवेलीले २० वर्षसम्म कोलार क्षेत्रमा उत्खनन् गर्न अनुमति पाएका थिए । त्यसपछि १८७५ मा शो साइटमा काम सुरु भयो ।

सुरुका केही वर्ष लेभेलीको धेरैजसो समय पैसा उठाउन र मानिसहरूलाई काममा लगाउनमा खर्च भएको थियो । धेरै मुस्किलपछि केजीएफबाट सुन निकाल्ने काम सुरु भयो ।

केजीएफ : बिजुली भएको भारतको पहिलो सहर

केजीएफ खानीमा पहिले टर्च र मट्टितेल जलाएर बालिने लालटिनको प्रयोग गरिएको थियो । तर यो प्रयास अपर्याप्त थियो । त्यसैले त्यहाँ बिजुली प्रयोग गर्ने निर्णय गरियो । यसरी केजीएफ बिजुली प्राप्त गर्ने भारतको पहिलो सहर बन्यो ।

त्यहाँबाट १३० किलोमिटर टाढा रहेको कोलार गोल्ड फिल्डको बिजुलीको आवश्यकता पूरा गर्न कावेरी पावर स्टेसन निर्माण गरिएको थियो । यो जापानपछि एशियाको दोस्रो ठूलो बिजुली प्लान्ट हो । यो वर्तमान कर्नाटकको मण्ड्या जिल्लाको शिवाना समुद्रमा बनाइएको थियो ।

केजीएफ भारतको पहिलो शहर थियो जहाँ पूर्ण रुपमा बिजुली पुग्यो । पानीबाट बिजुली बनेपछि त्यहाँ सधैं बिजुली आउन थाल्यो । सुनको खानीका कारण बैंग्लोर र मैसुरको सट्टा केजीएफले प्राथमिकता पायो ।

बिजुली आएपछि केजीएफमा सुनको उत्खनन् बढेको हो । त्यहाँ उत्खनन्को गति बढाउन प्रकाशको व्यवस्था गरेर धेरै मेसिन प्रयोग गरियो । फलस्वरूप सन् १९०२ सम्म केजीएफमा भारतको ९५ प्रतिशत सुन निकाल्न थालियो । सन् १९०५ मा भारत सुनखानीको हिसाबले विश्वको छैटौं स्थानमा पुगेको थियो ।

केजीएफको राष्ट्रियकरण

जब भारत स्वतन्त्र भयो, त्यसपछि भारतले त्यो ठाउँलाई पनि आफ्नो हिस्सामा लियो । त्यसलाई करिब एक दशकपछि अर्थात् सन् १९५६ मा राष्ट्रियकरण गरियो । सन् १९७० मा भारत सरकारको भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले त्यहाँ काम सुरु गरेको थियो । सुरुवाती सफलता मिलेपछि कम्पनीको फाइदा कम हुँदै गयो । सन् १९७९ पछि त यस्तो स्थिति आयो कि कम्पनीको साथमा आफ्नो मजदुरलाई दिने पैसा समेत रहेन ।

त्यहाँको उत्खनन् १२१ वर्षभन्दा धेरै चल्यो । सन् २००१ सम्म त्यहाँ उत्खनन् चलिरहेको थियो । अहिले त्यहाँको सबै काम ठप्प छ ।

अहिले केन्द्रको नरेन्द्र मोदी नेतृत्वको सरकारले २०१६ मा त्यहाँ फेरि उत्खनन् सुरु गर्ने संकेत दिएको थियो । केजीएफको खानीमा अझै पनि सुन छ भन्ने विश्वास छ । केन्द्र सरकारले २०१६ मा केजीएफलाई फेरि पनि ब्युँताउनको लागि लिलामी प्रक्रिया सुरु गर्ने बताएको थियो । तर अहिलेसम्म यो अघि बढे नबढेको स्पष्ट छैन ।

स्रोत: बीबीसी

Share.

Comments are closed.