राजकुमार साह गहुँको छ्वालीबाट हस्तकलाका सामग्री बनाउन सिपालु छन् । आफ्नै दाजुले दशैँमा दुर्गाको मूर्ति बनाउँदै गरेको देखेपछि उने पनि मूर्ति बनाउन सिके । अहिले त्यही सीपले साहको जीवनमा खुसीको रङ भरिएको छ ।

धनगढी उपमहानगरपालिका–२, बैइया बेहडीका ३५ वर्षीय साहको हस्तकलासम्बन्धी कार्यले उनलाई नाम र दाम दुवै दिएको छ । “मैले धेरै पढ्न पाइन तर हस्तकलासम्बन्धी सीप सिकेपछि कुनै समस्या भएन,” ८ कक्षासम्मको औपचारिक शिक्षा लिएका साहले भने।

गहुँको छ्वालीबाट विभिन्न किसिमका सामग्री बनाउँदै आएका उनले सिमेन्टको मूर्ति बनाउने काममै १२ वर्ष बिताइसकेका छन् । पछिल्लो समय घोडाघोडी तालमा राख्न भाले र पोथी घोडा तयार पारेका थिए भने अहिले सुदूरपश्चिम प्रदेश सभाका लागि हलो जोत्दै गरेको किसानको मूर्ति बनाइरहेका छन् । घोडा र किसानको मूर्ति बनाएबापत डेढ/डेढ लाख रुपियाँ पारिश्रमिक पाउने सहमति गरेको साहले बताए ।

छ्वालीको आर्ट र आफूले बनाएको मूर्ति बिक्रीका लागि साहले बैइया बेहडीमा ‘प्रिन्स ह्यान्डीक्राफ्ट एन्ड एक्वरियम’ नामक पसल सञ्चालन गरेका छन् । पसलबाट छ्वालीको आर्ट विदेशमा पनि गइरहेको उनले बताए । यसैगरी मूर्ति, सालिक बनाउन सुदूरपश्चिमको पहाडी जिल्लामा समेत पुग्ने गरेका छन् ।

हस्तकलाका सामग्री बनाएर वर्षमा साढे पाँच लाख रुपियाँसम्म कमाइ हुने गरेको साहको भनाइ छ । पछिल्लो समय युवापुस्ता सीपभन्दा पनि स्मार्ट मोबाइलमा झुम्मिएको भन्दै साहले कुनै न कुनै सीप सबैले सिक्न आवश्यक रहेको औँल्याए । “जमाना स्मार्ट छ तर सीप र मौलिकता छैन, सीपको महत्त्व कति छ ? त्यो बुझ्नेलाई मात्रै थाहा हुन्छ,” उनले भने ।

सीप सिकेमा गुजाराका लागि समस्या नहुने उनको बुझाइ छ । “सोहोर्न जान्यौँ भने धुलो र पातमा पनि पैसै-पैसा छ,” साहले थपे, “यी हेर्नुस्, गहुँको छ्वाली त्यसै खेर जान्छ । माटो त्यत्तिकै हुन्छ । त्यो सबबाट मैले पैसा कमाइरहेको छु । ”

स्रोत: गोरखापत्र

Share.

Comments are closed.