सुजित पाठक कक्षा ८ सम्म फेल भइराख्ने विद्यार्थी थिए । स्कुलले ३–३ महिनामा अभिभावक बोलाएर रिजल्ट थम्याउँथ्यो । सुजित फेल हुन्थे अभिभावकको गाली खान्थे । छोरा के कारणले फेल भएको हो ? सुधार केमा गर्नु पर्दथ्यो ? भन्ने कुरा स्कुल र अभिभावकबीच खासै कुराकानी नै हुँदैन थियो ।

स्कुल, अभिभावक र शिक्षकबीचको दूरी निकै लामो थियो । यो सुजितको मात्रै नभई सबैकाे व्यथा थियो । स्कुल र अविभावकको भेट भनेकै रिजल्ट आउने बेलामा हुन्थ्यो । शिक्षा जस्तो महत्वपूर्ण विषयमा रहेको यही ग्याप चिर्न आइटीमा ब्याचलर्स पढ्दै गर्दा २२ वर्षको उमेरमा सुजितले आफ्ना दुई जना साथीहरु निर्देश झा र सन्जन पियासँग मिलेर वेद नामक एप बनाए ।

शिक्षक, स्कुल, अभिभावकबीचमा कुराकानी र सञ्चार गर्ने यो एप अहिले नेपालमा ८ सय, जापान र ब्रुनाईको एक–एक वटा स्कुलमा प्रयोगमा छ । यसबाहेक भारत र बंगलादेशमा पाइलटिङ परियोजना चलिरहेको छ । सन् २०१६ मा एउटा टेवल र ३ वटा कुर्सीसहित जम्मा एक लाख ५० हजार रुपैयाँ लगानीबाट सुरु भएको तीन युवाको आइटी परियोजना अहिले ८० करोड मूल्यको ब्राण्ड बनेको छ ।

तीन सहयात्रीबाट शुरु भएको कम्पनीमा अहिले ७० जना कामदार थपिएका छन् । हातको चिर्कटोमा विद्यार्थीको गुनासा र नतिजा थमाउने विद्यालय र ३–३ महिनामा विद्यालय पुग्ने अभिभावक बीचको दुरीलाई मोबाइल एपले केही सेकेन्डमा ल्याइदिएको छ ।

के हो ‘वेद एप’?

वेद एप इन्ग्रेल्स प्रा.लिले २०१६मा विकास गरेको विद्यालय व्यवस्थापनको सम्पुर्ण कार्य गर्ने सफ्टवयेयर हो । वेद एप्सलाई विद्यालय, शिक्षक र अभिभावकबीचको पुल पनि भन्न सकिन्छ । वेदले विद्यालयकाे आवश्यक डिजिटल प्रविधि, तालिम र परामर्श दिन्छ । विद्यार्थीहरुको अनलाइन कक्षा संचालन, गृहकार्य, हाजिरदेखि शुल्क व्यवस्थापनसम्म यो एपमार्फत गर्न सकिन्छ । वेद एप्स दुबै आइओएस तथा एन्ड्रोइडमा उपलब्ध छ । विशेषगरी वेदले दैनिक रुपमा विद्यालय र विद्यार्थीका गतिविधि कैद गर्दछ ।

स्कुलको सूचना एपमा हाल्ने, एपमा आउने नोटिफिकेसनले अभिभावकले रेस्पोन्स गर्न सक्छन् । विद्यार्थी स्कुल ढिला आएकोदेखि खाजा खाए नखाएको, बिरामी परे नपरेको सबै सूचना यसमार्फत दिन तथा लिन सकिन्छ । अहिले त स्कुलको सम्पूर्ण प्याकेज वेदमा छ – पाठक सुनाउँछन् । स्कुलको बस ट्रयाकिङदेखि, टिफिन व्यवस्थापन, स्कुलको लेखाप्रणाली, शिक्षकको तलब सबै यही प्रणालीबाट हुने पाठक बताउँछन् ।

म्यानेजिङ डाइरेक्टर सुजितका अनुसार साक्षर अभिभावककालागि यो एप्स सहज छ । उनी भन्छन्, “फेसबुक चलाए जस्तै सजिलो छ यो प्रणाली । अभिवावकहरुले धेरै कुरा बुझ्नुभएको छ । एपमा नेपाली भाषा पनि छ । उहाँहरुलाई सहज हुनेगरी एप बनाएका हौँ ।”

पहिलो ग्राहक सेन्ट जेभियर्स

हरेक कुराको पहिलो सुरुवात गर्न कठिन हुन्छ भनेझै सुजित, निर्देश र सज्जनलाई वेद एप्सका लागि पहिलोपटक ग्राहक खोज्न निकै गार्हो भयो । युवाहरुले सुरु गरेको नयाँ काममा विश्वास गर्ने कम नै हुन्छन् । “खासगरी पहिलो काम गर्न भनेर पहिलोपटक पुग्दा हामीलाई विश्वास गर्नै कठिन हुने अवस्था थियो,” सुजित सम्झन्छन् । तर यी तीन युवामाथि विश्वास गर्ने पहिलो विद्यालय बन्यो सेन्ट जेभियर्स स्कुल । सेन्ट जेभियर्ससँग स्विकृति पाउन पनि यी तीनलाई हम्मे हम्मे पर्यो । भेट्न समय नपाइरहेका बेला सेन्ट जेभियर्सका फादरले उनीहरुलाई अचानक ३० मिनेटभित्र आउने अल्टिमेट दिएको दिन सुजित सम्झिन्छन् । फादरले सो समयभित्र आए एप लिने अन्यथा नलिने भनि उनीहरुलाई धम्काएका रहेछन् । तर समय नकट्दै हतार हतार तीन साथीहरु सेन्ट जेभियर्स पुगे र अन्ततः एप लिन पनि मनाए ।

“वेद एप सुरु गर्दा सेन्ट जेभियर्स हाम्रो सेवाग्राही हुने भयो । हामी पहिलो दिन आफ्नो काम बुझाउन जाँदा प्राेटोटाईप एप मात्र थियो । उहाँहरु विश्वस्त नै हुनुहुन्थेन । आइटी पढेका योङ मानिसहरु विदेश जान्छौं होला भन्नुहुन्थ्यो । तर हामीले कन्भिन्स गराएर सेन्ट जेभियर्सको काम ल्यायौँ ।”

तीनजनाले सुरु गरेको सानो कम्पनीमाथि धेरैले विश्वास गर्दैनथे तर सुरुवातमै शिक्षा क्षेत्रमा परिचित नाम सेन्ट जेभियर्सले उनीहरुलाई मौका दियो । त्यसपछि भने यी तीनले फर्केर हेर्नु परेन ।

ग्राहककै मार्केटिङले देशभर विस्तार

सेन्ट जेभियर्सको विश्वास जितेपछि वेद एप्सका लागि ३ दिनमा नै अर्को ४ वटा विद्यालयबाट प्रस्ताव आयो । त्यसका लागि १५ दिन उनीहरुले रातभर काम गरे । यसरी एकपछि अर्को स्कुल गर्दै, विद्यालय र ग्राहककै भरमा वेद एप्स फैलँदै गयो । “अहिले भएका ८ सय स्कुलमध्ये हामी मुश्किलले २ देखि ३ सय स्कुलमा डोर टू डोर पुग्यौँ होला नत्र त सबै ग्राहकहरुले नै गरेको प्रचारबाट हाम्रो सेवाग्राही थपिनुभएको हो,” सुजितले बताए ।

सुरुवात भएको पहिलो वर्ष १५ वटा स्कुलमा वेद एप्स संचालन गरिएको थियो । तर कम्पनी विस्तार हुने क्रममा ८ वर्षमा ८ सय स्कुल वेदसँग आबद्ध रहेका छन् ।

जापानदेखि ब्रुनाईसम्म, बंगलादेश र भारतमा पनि

सुजितका अनुसार वेद एप्स नेपालमा मात्र नभएर विदेशसम्म पुगिसकेको छ । ब्रुनाई र जापानको एक एक वटा स्कुलमा वेद लन्च गरिएको छ । यसैगरी, बंगलादेशमा पनि पाइलटीङ भइरहेको सुजितले मेरोलगानीलाई बताए । विस्तारकै क्रममा सीइओ निर्देश झा यतिबेला भारतमा वेद एप्स चिनाउने जमर्कोमा लागेका छन् ।

वेद एपले स्कुलको आवश्यकताअनुसार काम गर्ने भएकाले अरुभन्दा फरक भएको एमडी सुजितले सुनाए । “यो व्यवसाय मात्रै नभई गुणस्तर सुधार पनि हो । कति स्कुलहरु अन्य सफ्टवेयर छोडेर पनि हामी कहाँ आउनुभएको छ । हामी उत्तरदायी भएका कारण पनि हामी अरु भन्दा फरक छौं,” उनी विश्वस्त सुनिन्छन् ।

डेढ लाख लगानीबाट ८० करोडको कम्पनीसम्म

सन् २०१४ मा इनग्रेल सुरु गर्दा सुजित, निर्देश र सज्जन आईटिका विद्यार्थी थिए । तीनकुनेस्थित सीआईटी कलेजमा बीआइटी अध्ययन गरिरहेको समयमा सुजित एक कम्पनीमा काम गर्थे । सोही कम्पनीमा वेदका तीन संस्थापकहरुको भेट भयो । सीइओ निर्देश झा, सीओओ सन्जन पिया र एमडि सुजित पाठकको आफ्नै देशमा केहि गर्ने सोंच मिल्यो र कम्पनी इन्ग्रेल खोलियो । वेद एप्स भने २०१६मा मात्र सुरु गरिएको हो ।

एक सानो कोठामा एउटा टेबलमा ३ जना बसेर काम थालेका यी तीन संस्थापकहरुलाई अहिले धोवीघाटको ठुलो घर पनि कामका लागि सानो भएको छ ।

कम्पनी सुरु गर्दा तीन साथीले ५० हजार रुपैयाँका दरले १ लाख ५० हजार रुपैयाँ लगानी गरेका थिए। तर सात वर्षमा कम्पनीको दायरा र सफलता फराकिलो भएसँगै कम्पनीको भ्यालुएसन ८० करोड रुपैयाँ पुगेको छ । वेद एप्सको वार्षिक कारोबार ६ करोड रुपैयाँ भन्दा बढी भएको सुजितको दाबी छ।

तर यो सफलताको पछाडि यी तीन युवाहरुको अथक प्रयास, लगाव, मेहनत र योगदान रहेको छ । मासिक २ लाख भन्दा बढी आउटसोर्सिङ गरेर कमाई रहेका युवाहरुले पैसालाई चटक्कै माया मारेर एक वर्ष शून्य पारिश्रमिकमा काम गरे । दोस्रो वर्ष पनि उनीहरुले जम्मा १० हजार तलबमा काम गरेका थिए । वेद एपलाई यो अवस्थासम्म ल्याइ पुर्याउन उनीहरुले कैयौँ रात नसुती काम गरेर पनि बिताएँ । यद्यपी उनीहरुले त्यसलाई काम होइन रहर भएको भन्छन् । “यहाँसम्म पुगिन्छ जस्तो लागेको थियो तर यति छिट्टै हुन्छ भन्ने चाहिँ थिएन । २ घण्टा मात्रै सुतेको दिन पनि छन् । काम गर्दा रमाइलो हुने भएकाले डर र थकान थिएन ।”

२ वर्षमा २० हजार विद्यालय जोड्ने लक्ष्य

हाल वेद एप्स ८ सय विद्यालयमार्फत १६ लाख मानिसले चलाउँछन् । देशभरका ४० जिल्ला भन्दा धेरैमा संचालन भइरहेको यो एप्स भर्खर मात्र बुटवलका ३ सय भन्दा बढी स्कुलमा पुग्दैछ । चितवनमा पनि शाखा स्थापना गरिएको छ ।

अबको २ महिनामा नेपालका एक हजार विद्यालयमा वेद एप्स पुर्याउने योजना सहसंस्थापक तथा एमडि सुजितको रहेको छ । यसैगरी, २ वर्षमा २० हजार स्कुलमा पुग्ने तीन संस्थापकहरुको लक्ष्य छ। एमडि सुजित भन्छन्, “नेपालकै ठूलो आइटी कम्पनी बनाउने हाम्रो चाहना छ । नेपालमा पनि धेरै सेक्टरमा धेरै काम गर्न अझै बाँकी नै छ ।”

स्रोत: merolagani

Share.

Comments are closed.