अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा चुहाउने गरेको आरोप लगाएका छन् ।

राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा बोल्दै उनले भने, “कुनै नागरिकले समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर गोप्य कुराहरु किन पुर्याइन्छ ?”, उनले थपे, “यस्ता कुराले अनुशासन हुँदैन । रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम हुन्छ ।”

यस्तै उनले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिकै एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरे । अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेकै एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको उनको भनाइ छ ।

पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खोले त्यसको रेकर्ड दिन उनले माग गरे ।

अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताए । श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको उनको भनाइ छ ।

मुलुकमै अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ थियो । सरकारले बनाएका नीतिमै समस्या रहेको औंल्याउँदै अर्थमन्त्री शर्माले बनाएका नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नुपर्ने बताए ।

Share.

Comments are closed.