भारतमा खुल्यो भिखारी बैंक, निक्षेप राख्न र ऋण लिन पाईने !

भारतमा भिखारी बैंक खुलेको छ। बिहारस्थित मुजफ्फरपुरका भिखारीले आफ्नै ‘बैंक’ खोलेका छन् । उक्त बैंकमा भिखारीहरूले भिक्षामा पाएको पैसा जम्मा गर्छन् । जम्मा गरिएको रकममा उनीहरुले ब्याज पनि पाउँछन् ।

१७५ भिखारीले पाँचवटा छुट्टाछुट्टै स्व–सहायता समूह बनाएका छन् । यो स्व–सहायता समूह हरेक आइतबार विभिन्न तोकिएका ठाउँहरूमा भेला हुन्छ । बैठकमा भावी योजनाका बारेमा छलफल हुन्छ ।

स्थानीय महिला ललितादेवीले पैसाको अभावमा छोरीको बिहे गर्न नसकेको तर भिखारी बैंकका कारण छोरीको बिहे गराउन पाएको बताउँछिन् । भिखारी बैंकले ललितादेवीलाई २० हजार रुपैयाँ ऋण दिएको थियो ।

समुहका मानिसले आवश्यकता पर्दा ऋण पनि लिन्छन् । शेरपुर ढाबका दिनेश साहनी, अखराघाटकी ललितादेवी र सिकन्दरपुरका मोहन राईले केही महिनाअघि नै यहाँबाट ऋण लिएर छोराछोरीको विवाह गरे । अन्य दुई परिवारले बिरामी छोराको उपचार गराए ।

तुलसी ग्रुपकी सेक्रेटरी विभा देवीले आफुहरुसँग १० जनाको समूह रहेको र यो समूह एक वर्षभन्दा बढी समयदेखि सञ्चालन भइरहेको बताइन् । आज समुहसँग करिब २० हजार रुपैयाँ छ र आवश्यक परे एक सय रुपैयाँको दरले ब्याज लिइन्छ ।

बैंकका प्रबन्धक राजकुमार मांझीले ६ वर्षअघि बैंक स्थापना गरेको बताए । यसमा ४० सदस्यहरू छन् । मान्झी भन्छन्, ‘बैंकको दैनिक कामकाज हेर्न म शिक्षित छु । “बैंकका प्रत्येक सदस्यले मंगलबार २० रुपैयाँ जम्मा गर्छन् ।

बैंक सचिव मालतीदेवीले समाजमा उनीहरुलाई राम्रो व्यवहार नगरिएको बताइन् । उनले भनिन्, ‘त्यसैले हामीले बैंक खोल्यौं। अब अन्य ठाउँका भिखारीलाई बैंकसँग जोड्ने योजना छ । यसका लागि एजेन्टको संख्या बढाइनेछ । उनीहरूलाई ब्याज रकमबाट भत्ता दिइनेछ । यससँगै सरकारी बैंकमा मंगला बैंकको नाममा खाता पनि खोलिनेछ ।’

Comments

Back to top