नेपाली बैंकिङ इतिहासकी पहिलो महिला सीईओ ‘अनुपमा खुँजेली’

अनुपमा खुँजेली नेपालको बैंकिङ इतिहासमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएकी छिन् ।

खुँजेलीले एमबीए गरेकी छिन् । उनले एस कलेजबाट एमबीए गरेकी हुन् । नेपालकै सेन्टमेरिज स्कुलमा १० कक्षासम्म पढेपछि उनले प्लस टु भारतबाट गरेकी हुन् । स्नातक गर्न भने उनी पुनः नेपाल नै आइन् । उनले स्नातक स्नातक शंकरदेव क्याम्पसबाट गरेकी हुन् । 

अहिले, उनी मेगा बैंक नेपाल लिमिटेडको सीईओमा चार वर्षका लागि नियुक्त भएकी छिन् । बैंकको विहीबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समितिको वैठकले उनलाई सीईओको जिम्मेवारी सुम्पेको हो । दुई वर्षे कार्यकाल सकेर अनिल केशरी शाह अवकाश भएपछि उनले मेगा बैंकमा नै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

खुँजेलीसँग २७ वर्ष लामो बैंकिङ अनुभव रहेको छ । उनले सन् १९९१ मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्टान्डर्ड चार्टर्ड बैंकबाट करिअरको सुरुवात गरेकी थिइन् । त्यहाँ उनले सहायक स्तरबाट प्रवेश गरी १३ वर्ष विताएर मेनेजर तहबाट बाहिरिइन् । त्यसपछि सिनियर मेनेजरका रुपमा उनी नबिल बैंकमा प्रवेश गरिन्, जहाँ उनले छ वर्ष विताइन् र संस्थापक नायव महाप्रबन्धकका रुपमा मेगा बैंकमा कदम राखिन् । त्यसपछि बढुवा हुँदै उनी सीईओ बन्न सफल भएकी हुन् ।

यसरी, आफ्नो अथक मेहनतले गर्दा खुँजेलीले एक ठूलो जिम्मेवारी सम्हाल्ने मौका पाएकी छिन् र हजारौँ महिलाहरुको लागि प्रेरणाको श्रोत पनि बनेकी छिन्।  

Comments

Back to top