दोलखामा शान्तिपूर्ण रूपमा मतदान जारी

दोलखामा शान्तिपूर्ण मतदान चलिरहेको छ । ४ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवाद उत्पन्न भएपछि रोकिएकोमा बिहीबार पुनः मतदान भएको हो । बिहान ७ बजेखि नै सुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न १० वटा मतदान केन्द्रमा जारी निर्वाचनमा हाल झण्डै ३४ प्रतिशत मत खसेको पनि आयोगले उल्लेख गरेको छ । जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नम्बर ३ कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका-३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान चलिरहेको छ । 
         
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ९४ वटा मतदानस्थल र १९५ मतदान केन्द्र  थिए । कुल एक लाख ६१ हजार ४५० मतदाता रहेको उक्त क्षेत्रमा १४ राजनीतिक दल र सात जना स्वतन्त्र नागरिक गरी कूल  २१ जना उम्मेदवार  छन् ।   

Comments

Back to top