डिल्लीराम उप्रेती: जो कागती बेचेरै करोडपति बने!

झापाको मेचीनगर नगरपालिका-९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् ।

नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् ।

उनले अहिले वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्न थालेका हुन् । २०६९ सालबाट कागतीखेती शुरु गर्नुभएका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थाले ।

बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएका उप्रेती अहिले मेहनती कृषकका रुपमा झापामा परिचत छन् । उनले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बद्र्धन र जैविक विविधतामा पु¥याएको योगदानस्वरुप यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार समेत प्राप्त गरे ।

डेढ लाख रुपैयाँको लगानीमा कृषि कर्म शुरु गर्नुभएका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पु¥याएको बताए । उनले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाए ।

डेढ बिगाहा काँशघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन शुरु गर्नुभएका उप्रेतीले अहिले वार्षिक डेढदेखि दुई लाख कागतीका दाना बिक्री गर्छन । उनको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू पाँच वर्षमा करोडपति भएको उनले सुनाए ।

कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गरेका छन् । वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै उनले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका छन् । उनका बगैँचामा ३०० कागतीका बोट छन् । उनले कागती कलमी गरेर गमलामा समेत फलाएका छन् ।

कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा रु ५० देखि ८५ सम्ममा बिक्री गर्ने गरेको उनका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

“छोराले मान्छे हेरेर बिरुवाको दाम लिन्छ, गरिब दुःखीलाई निःशुल्क बिरुवा बाँड्छ भने व्यावसायिक कागतीखेती गर्न इच्छुकलाई ५० देखि ८५ सम्ममा बिरुवा बिक्री गर्दै आएको छ,” उनले भने ।

होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुगेका थिए । उनले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरेका छन् । धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ, उनले भने, “नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु ।”

कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उहाँको अर्को आयस्रोतको बाटो हो । उनी न्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्छन् ।

त्यस्तै गड्यौँले मल बिक्रीबाट पनि उहाँको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौँले मल उत्पादनका लागि उहाँले छुट्टै मल घर बनाएका छन् ।

उनले आफ्नो कृषि फर्ममार्फत धेरैलाई रोजगारी पनि दिएका छन् । हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीँ अरुलाई रोजगार दिन सक्ने भएको छु,’  उप्रेतीले भने, “माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो” उनले पाकेका कागतीको दाना देखाउँदै भने- “सुनभन्दा कम छैन, यो कागतीको दाना ।”

हिजो मैले व्यवसाय शुरु गर्दा कागतिको खेती गरेर के माइ होला र भनी खिस्याउनेहरु अहिले मसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागतीखेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु,’  उप्रेतीले भने, ‘कतिलाई त कागतीका बिरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।’

उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ । 

Comments

Back to top