सार्वजनिक यातायातमा खुद्रा पैसा नभएको बाहनामा यात्रु ठगिने क्रम रोकिएन

काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि खुद्रा पैसा नभएको बाहनामा सार्वजनिक यातायातमा यात्रु ठगिने क्रम रोकिएन छैन् ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । भाडादर घटेपनि छोटो दूरीका सार्वजनिक यातायातले यात्रुहरुसँग बढी रकम लिने गरेका छन् । अझ खुद्रा नभएको बाहाना यात्रु ठगिने चलन नौलो होइन ।

एक साताअघि डिजेलमा प्रतिलिटर १० रुपैयाँका घट्यो । हाल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपियाँबाट १ सय ५५ रुपैयाँमा झरेको छ । डिजेलको भाउ घटेसँगै काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटेको छ ।

भाडादर समायोजन गरेपनि दुई/चार रुपैयाँ सधैँ बढी तिर्नु पर्ने भन्दै नागरिकस्तरबाट गुनासो आउने गरेको छ । १७ रुपैयाँ भाडा रहेको अवस्थामा यात्रुसँग सहचालकले २० रुपैयाँ लिने गरेका थिए । अहिले भाडादर घटेपनि यात्रुहरुले उपत्यकामा सवारी चढेसँगै २० रुपैयाँ तिर्नुपरेको छ ।

यस्तै, २८ रुपैयाँ कायम रहेको ठाउँमा बाध्य भएर ३० रुपैयाँ तिर्नुपरेको यात्रुहरु गुनासो गर्छन् । सहचालकले चानचुन रकम नभएको भन्दै बढी रकम लिँदा यात्रुहरू ठगिने गरेको पाइन्छ ।

हरेक समयमा भाडा दर बढ्दा यातायात व्यवसायीले भाडा बढाउने तर भाडा घट्दा भाडादर नघटाउने गरेको गुनासो आउने गर्दछ । सहचालकले आफूसँग चानचुन रकम नहुने र यात्रुहरुले पनि चानचुन रकम नबोक्ने हुँदा हिसाब गर्न अफ्टेरो हुने भन्दै बढी भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।

चानचुन नभएको बाहनाले देशभरि यही प्रवृत्ति हाबी हुँदा दिनमै लाखौं रकम हिनामिना हुने गरेको छ । तर, यसको जवाफदेहीता लिन कोही तयार छैनन । अझ भाडा बढ्दा तत्काल बढाउने तर घट्दा चासो नराख्ने चलन सार्वजनिक यातायात सञ्चालकमा छ ।

उनीहरु यस विषयमा बोल्न इच्छुक देखिदैनन । यस्तो स्थितिमा स्वयं स्वयं उपभोक्ता चानचुने पैसा बोकेर सजग भई सार्वजनिक यातायात उपयोग गर्नुको विकल्प छैन ।

Comments

Back to top