सकियो सदनको गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक, ओलीले भने– भरे देख्नुहुन्छ

सदनको गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो । 

बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘भरे देख्नुहुन्छ।’

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले शीर्षनेताको बैठक राखेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गरेको एमालेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति देउवाले छलफल गरेका हुन् । 

आइतबार बसेको राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ भने प्रधानमन्त्रीको आग्रहमा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ । 
 

Comments

Back to top