सभामुख घिमिरेसँग फ्रान्सेली राजदूत बोरबाओको भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् । 

सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनका अनुसार भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । 

‘हामीबीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ,’ सभामुख घिमिरेले भने । उनले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको बताए ।

‘फ्रान्सेली क्रान्तिको आधारभूत मान्यताहरु स्वतन्त्रता, समानता र भ्रातृत्व नेपाली राजनीतिक आन्दोलनमा प्रेरणाको स्रोतको रुपमा रहेका छन्,’ उनले भने । 

सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझा मञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सबलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे । 

जवाफमा राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएकोमा खुसी व्यक्त गरे । उनले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्त गरे । 
 

Comments

Back to top