गाजामा युद्धविरामको माग गर्दै राष्ट्रसंघले प्रस्ताव पारित गरेपछि इजरायल अमेरिकासँग क्रुद्ध
गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाउन अस्वीकार गरेपछि इजरायलले वासिङ्टनमा हुने बैठक रद्द गरेको छ । सोमबार सुरक्षा परिषद्ले पारित गरेको प्रस्तावमा इजरायलमा तत्कालै युद्धविराम गर्नुपर्ने र हमासले बन्धक बनाएका सबै बन्दी रिहाईको माग गरिएको छ । गाजामा भोकमरी रोक्नका लागि तत्काल कदम चाल्न आह्वान गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यसअघि युद्धविरामको प्रस्ताबमा अमेरिकाले भिटो लगाउँदै आएकोमा भिटो लगाउन अस्वीकार गरेपछि इजरायल अमेरिकासँग क्रुद्ध बनेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले आफ्नो पहिलेको नीतिलाई त्यागेको आरोप लगाएको बीबीसीले जनाएको छ ।
द्वन्द्वको शुरुदेखि नै अमेरिकाले सुरक्षा परिषद्को तीनवटा प्रस्ताब भिटो लगाएर असफल बनाएको थियो। रुस र चीनले पनि दुई वटा प्रस्तावमा भिटो लगाएका थिए । सोमबार भने अमेरिकाले रमजान महिनाको बाँकी दुई हप्ताको लागि तत्काल युद्धविराम र सबै बन्धकको तत्काल र बिना शर्त रिहाईको माग गर्ने प्रस्तावमा मतदान गरेन ।
बेलायतलगायत अन्य १४ सदस्यले यसको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको थियो । युद्धविराम गर्नको लागि हमासले बन्धक रिहाई गर्नुपर्ने विषयलाई सर्त नबनाएको भन्दै इजरायल अमेरिकासँग रिसाएको हो । इजरायली प्रतिनिधिमण्डलले यसै हप्ता अमेरिका भ्रमण गर्ने योजना बनाएको थियो तर अमेरिकाले कुरा फेरेको भन्दै भ्रमण स्थगित भएको छ । एजेन्सी
Comments