अमेरिकामा चिनियाँ कारको आयातमा प्रतिबन्ध लगाउन राष्ट्रपति बाइडेनलाई आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकामा चिनियाँ कारको आयातमा स्थायी रूपमा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ । सिनेट बैंकिङ कमिटीका अध्यक्ष सिनेटर शेरोड ब्राउनले चिनियाँ विद्युतीय गाडीहरू अमेरिकी गाडी उद्योग तथा व्यवसाय टिकाउनका लागि खतरा रहेको भन्दै चिनियाँ कारको आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

यसअघि अमेरिकामा चिनियाँ विद्युतीय कार आयात कम गर्न कर बढाउने सुझाव मात्र आएकामा उनको टिप्पणीलाई अहिलेसम्म यस विषयमा आएको सबैभन्दा बलियो अभिव्यक्ति भएको मानिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार गएको फेब्रुअरीदेखि अमेरिकाले चिनियाँ कारहरूले राष्ट्रिय सुरक्षा जोखिममा पारेको विषयमा अनुसन्धान गरिरहेको छ ।

सिनेटर ब्राउनले चीनलाई उसको सरकारको समर्थनमा अमेरिकी अटो उद्योगमा व्यवसाय विस्तारका लागि अनुमति दिन नसकिने बताएको खबरमा उल्लेख छ । कार उत्पादन गर्ने राज्य ओहायोका डेमोक्र्याटिक सिनेटर ब्राउन नोभेम्बरमा हुने चुनावमा चौथो कार्यकाल जित्न खोजिरहेका छन् ।

एजेन्सी

Comments

Back to top