यी हुन् विश्वको सबैभन्दा होचा डाक्टर, यस्तो छ मार्मिक कहानी

संसारमा कुनै पनि चिज गर्न असम्भव छैन भन्ने कुराको ज्यूँदो प्रमाण हुन् २३ वर्षीय गणेश बरैया । निकै होँचो कदका कारण विभेदको सामना गर्नु परेपनि उनी कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होँचो डाक्टर बन्न सफल भए।

भारतको गुजरात राज्यस्थित तलाजा ठालुकामा जन्मिएका गणेशले सानै उमेरदेखि प्रतिकूलताको सामना गर्नुपर्‍यो। जन्मिदा सामान्य नै रहेका उनी ४ वर्षको हुँदा शारीरिक असन्तु लन देखिन थाल्यो । गणेशको शरीरको अनुपातमा टाउकोको आकार निकै धेरै बढ्दै गएको अनुभूति उनका बुवाआमाले गरे । त्यसैले उनलाई डाक्टरकोमा लगियो ।

अस्पतालमा चेकजाँचपछि डाक्टरले गणेशमा उपचार नै नहुने स्वास्थ्य समस्या रहेको र अब कसैले केहीपनि गर्न नसकने बताए । त्यसपछि टाउको धेरै नबढोस् भन्नका लागि गणेशकी आमाले उनको टाउकोमा निकै कसिलो हेलमेट बाँधिदिइन् । स्कुलमा पनि छोटो कद र ठूलो टाउकोका कारण उनी खिसिट्युरीको सिकार बने । तर, उनका कतिपय असल साथीहरु पनि थिए, जसको साथ र सहयोगका कारण उनले पढाइमा ध्यान दिएर राम्रो गर्न सके ।

कृषि मजदूरको काम गरेर दैनिक २ सय भारु आम्दानी गर्ने गणेशका बुवालाई एकदिन अनौठो अफर आयो । गणेशलाई सर्कसमा लैजानका लागि १ लाख भारुको अफर गरियो । गणेशका बुवाले छोरालाई सर्कसमा पठाउन अस्वीकार गरे । तर आफ्नो छोरालाई कुनै दिन अपहरण गरेर सर्कसमा लैजान्छन् कि भनेर निकै डराए । त्यसपछि उनले गणेशलाई आफैले स्कुल लैजाने तथा ल्याउने गर्न थाले र कहिल्यै पनि एक्लै बाहिर जान दिएनन् ।

आफ्नो शारीरिक सीमितताका बाबजुत गणेश निकै महत्वाकांक्षी व्यक्ति थिए । उनलाई सानैदेखि भविष्यमा डाक्टर बन्ने इच्छा थियो । त्यसैले उनले अध्ययनमा कठिन मिहिनेत गर्दै राम्रो अंकसाथ विद्यालयको पढाइ पूरा गरे ।

त्यसपछि उनले एमबीबीएस पढ्नका लागि आवेदन गरे, प्रवेश परीक्षामा राम्रो अंक ल्याए, तर पुड्को कदका कारण उनको आवेदन अस्वीकृत गरियो ।

शरीरको उचाइ केवल ३ फिट भएको र भविष्यमा कार्यस्थलमा डाक्टरको भूमिका निभाउन नसक्ने भन्दै भारतको मेडिकल काउन्सिलले उनको आवेदन अस्वीकृत गरेको थियो ।

त्यस्तो निर्णयबाट विक्षिप्त बनेका गणेश आफ्नो विद्यालयका प्रधानाध्यापकको सहयोगमा जिल्ला अधिकारी र पछि शिक्षामन्त्रीकोमा पुगे । उनले गुजरात उच्च अदालतको ढोका पनि ढक्ढकाए । तर उनका कुनै पनि प्रयास सफल भएनन् । यति हुँदा पनि उनले हार मानेनन् । उनको मुद्दा भारतको सर्बोच्च अदालतमा पुग्यो र सर्वोच्च अदालतले अन्ततः गणेशलाई न्याय दिलाएरै छाड्यो ।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशलाई एमबीबीएसमा भर्ना गर्नका लागि मेडिकल काउन्सिललाई आदेश दियो । त्यसपछि उनी अर्को वर्ष भर्ना भए ।

३ फिटको उचाइ तथा १८ केजी वजन भएका गणेशले हालै आफ्नो एमबीबीएसको पढाइ पूरा गरेका छन् । उनी हाल एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको रुपमा काम सुरु गरेका छन् ।

यद्यपि, आफ्नो कदका कारण गणेशले अझै पनि केही विभेद झेल्नु परिरहेको छ । सुरुमा विरामीहरुले उनलाई पत्याउँदैनन् र उनीसँग खुल्न चाहँदैनन् । तर जब उनीसँग केहीबेर कुरा गर्छन् तब उनको विज्ञतामा ढुक्क हुन्छन् । यस्तो अवस्था अरु सामान्य कदका डाक्टरहरुले कहिल्यै भोग्नु पर्दैन । उनलाई बिरामीहरुको यस्तो व्यवहारमा बानी परिसकेको छ र त्यसलाई सामान्य रुपमा लिन्छन् ।

तर, गणेशले गिनिज बुकमा नाम लेखाउन बाँकी नै छ । तर, विश्वको सबैभन्दा होँचो डाक्टरको रुपमा उनको चर्चा चुलिएको छ । 

एजेन्सी

Comments

Back to top